काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।
अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्लेयर अफ दी म्याच भएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए ।
यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए । यसैगरी विनोद भण्डारीले ३७, आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । बलिङतर्फ अमेरिकाका निशर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिए ।
यसअघि २३० रन बनाउने क्रममा अमेरिकाका लागि मोनाङक पटेलले शतकीय पारी खेलेका थिए । यस्तै निशर्ग पटेलले २१, सुशान्त मोदनीले १६, करिमा गोरेले १६, स्टेभन टेलरले १४, नोष्ठुस केन्जिगेले १३, सञ्जय कृष्णमूर्तिले १३, अभिषेक प्रदमकरले अविजित १३ र जसकरन मलहोत्राले ११ रन बनाए ।
बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शङ्खला खेल्न नेपाली टोली ओमान गएको हो ।
ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन् ।