सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बालिकालाई जबर्जस्तीकरणी गरेको आरोप लागेको छ ।
गंगारामले पन्ध्र वर्षीया एक बालिकाको श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले जबर्जस्तीकरणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन् ।
प्रहरीले जाहेरी लिएसँगै कुश्माखरको खोजी भएको जनाएको छ । बालिकाको पेटमा आठ–दश हप्ताको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताएका छन् । उनको निवेदनमा आफूलाई दुई वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ–दश हप्ताको गर्भ रहेको समेत उल्लेख गरेकी छिन् ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए । जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट-१० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।
‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी जबर्जस्तीकरणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन् ।
गरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ । पीडित बालिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र बलात्कार गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।