काठमाडौँ। सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–चीन सम्बन्धमा खटपट हुन सक्ने बताएका छन् ।
नाम्खामा चीनबाट नेपाली भूभाग अतिक्रमण भएको दाबी कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गर्दै आएका छन् । यस विषयमा सरकारी तहबाटै छानबिन गर्न दुवै नेताले माग गरेका थिए । त्यही दबाबमा परराष्ट्र्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् बैठकबाटै यसबारे अध्ययन कार्यदल गठनको निर्णय लिएका हुन् ।
‘हुम्लाको लिमी र लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको छ,’ सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । टोलीले नाम्खा गाउँपालिका वडा नं. ५ र ६ को सीमावर्ती भूभाग अध्ययन गर्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रको नेपाली भूभाग चीनबाट अतिक्रमण नभएको स्पष्ट पारिसकेको थियो । तर कांग्रेसका केही नेताले चीनबाट नाम्खामा सीमा अतिक्रमण भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन छानबिन गर्नुपर्ने भनेर निरन्तर दबाब दिँदै आएका थिए । स्रोतका अनुसार पछिल्लो पटक गत साउन २६ मा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग गरेको बैठकमा पनि नेताद्वय निधि र शाहीले छानबिन समिति गठन गर्न दबाब दिएका थिए ।
गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम बनाउने क्रममा पनि यो विषय उठेको थियो । तर माओवादी केन्द्रको असहमतिपछि यो विषयलाई कार्यक्रममा समावेश गरिएन । पूर्वमन्त्री शाहीले स्थलगत निरीक्षणै गरेर नाम्खा गाउँपालिका–६, लिमीमा पर्ने ११ नम्बर स्तम्भ रहेको नेपाली भूभाग चीनबाट अतिक्रमण भएको दाबी गरेका थिए । तर, परराष्ट्रले उक्त सीमास्तम्भ रहेको क्षेत्रमा अतिक्रमण नभएको जनाएको थियो ।
नेता शाही र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परराष्ट्र र गृह मन्त्रालयबाट अनुमति नै नलिई गत असार २६ मा नेपाल–चीन नाका जोड्ने नाम्खा गाउँपालिका वडा नं. ५ र ६ को सीमा क्षेत्र अनुगमन गरेका थिए । त्यसप्रति गृह र परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएका थिए । चीनले नाम्खामा नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषय यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिमा पनि उठेको हो ।
२०७७ असोजमा कांग्रेस नेता शाही नेतृत्वको टोलीले हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङजोङ क्षेत्र निरीक्षणपछि चीनद्वारा नेपाली सीमा मिचिएको निष्कर्ष निकालेको थियो । चीनले सीमा अतिक्रमण गरेको भन्दै निरीक्षण प्रतिवेदन पार्टीको केन्द्रीय समितिमा पठाइएपछि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले शाहीको नाम नै किटेर अतिक्रमण गरेको भन्ने आरोपको खण्डन गरेकी थिइन् ।
नेपाल–चीन करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा क्षेत्र रहेकामा सगरमाथाको उचाइमा फरक–फरक दाबी हुनुका साथै दोलखाको लामाबगरबाट उत्तरतर्फ लाप्ची गाउँको कोर्लाङस्थित टिप्पामा विवाद देखिएको थियो । दुवै देशका प्राविधिक खटिएर सगरमाथाको साझा उचाइ मापन गरेपछि २०७७ मंसिर २३ बाट यो विवाद निरूपण भइसकेको छ । टिप्पामा ५७ नम्बरको स्तम्भ यतापट्टि ६ हेक्टर जमिन मिचिने गरी गाडिएको भन्दै समाधानका लागि नेपालले पहल गरिरहेको छ । दुवै देशका प्राविधिक टोलीले सीमा क्षेत्रको अद्यावधिक विवरण तयार पार्ने क्रममा यसलाई पनि समेट्न पहल गरिरहेका छन् । अन्य ठाउँमा सीमा विवाद नभएको बताइए पनि सरकारले नाम्खालाई विवादमा ल्याउन खोजेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले अघिल्लो सरकारले एउटा भन्ने र अहिले अर्कै विषय बाहिर ल्याउने कुराले वैदेशिक र सीमासम्बन्धी मामिलामा अपरिपक्वता उजागर भएको बताए । ‘परराष्ट्र्र मन्त्रालयले यही विषयमा कुनै विवाद छैन भनेर अघिल्लो सरकारकै पालामा औपचारिक धारणा बाहिर ल्याइसकेको अवस्थामा अहिले पुनः विवाद छ भन्ने आशयका साथ सरकारी अध्ययन/अनुसन्धान टोली खटाउने निर्णयले दुई देशबीच कूटनीतिक सम्बन्धमा समेत नकारात्मक असर पर्नेतर्फ चनाखो हुनुपर्ने देखिन्छ,’ उनले कान्तिपुरसँग भने । सरकारकै एक सचिवले मन्त्रिपरिषद्को निर्णयले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्न सक्ने चेतावनी दिए । ‘पार्टीका केही नेताको दबाबमा प्रधानमन्त्रीबाट यति हल्काफुल्का ढंगले सीमासम्बन्धी विषयमा समिति गठन गर्नै हुँदैनथियो, यसले उहाँलाई नै अपरिपक्व बनाइदियो,’ उनले भने ।
सीमाविद् श्रेष्ठले वैज्ञानिक तथ्य र प्रमाण, दुई देशबीचका सन्धि–सम्झौता र कागजातका आधारमा मात्रै यस्ता विषयमा हात हाल्न सरकारलाई सुझाव दिए । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले २०७७ भदौ अन्तिम साता स्थलगत अनुगमन गरेर चीनबाट नेपाली भूभाग अतिक्रमण भएको बताएपछि विवाद सतहमा आएको थियो । त्यसपछि चिनियाँ राजदूत यान्छीले उक्त आरोप गलत रहेको भन्दै परराष्ट्रका अधिकारीलाई भेटेर असन्तुष्टि जनाएकी थिइन् । त्यसपछि परराष्ट्रले विवाद नरहेको भन्दै स्पष्टीकरण दिएको थियो । विवादास्पद प्रतिवेदन तयार पारेको भन्दै त्यही बेला गृह मन्त्रालयले सहायक प्रजिअ हमाललाई २०७७ असोज ७ मा स्पष्टीकरण सोधेको थियो । पछि आफूले गलत अभिव्यक्ति दिएको भन्दै उनले माफी मागेका थिए । त्यसपछि गृहले असोज २ मा लिमी क्षेत्रको थप अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो ।
तत्कालीन प्रजिअ चिरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका अधिकारीसहितको टोली विवाद रहेको भनिएको ११ नम्बर स्तम्भ भएको क्षेत्रमा पुगेको थियो । टोलीले गायब भएको भनिएको स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको थियो । तर, असोजमै ११ दिनसम्म सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता शाहीले हुम्लामा मात्र चीनद्वारा ६ स्थानमा ‘गडबडी’ भएको प्रतिवेदन तयार गरेका थिए ।
प्रतिवेदनमा ललुङजोङमा चीनले नेपाली भूमि अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको, गप्पुदोचादेखि नेपालले निर्माण गरेको झन्डै २ किमि सडक चीनले अतिक्रमण गरेको, लाप्चा भन्ज्याङमा नयाँ निर्माण गरिएको १२ नम्बर सीमास्तम्भको ‘अलाइनमेन्ट’ पूरै परिवर्तन गरिएको, हिल्सामा रहेको ९ (२) नम्बरको सीमास्तम्भको बीचरेखामा तारबार तथा गेट निर्माण गरिएको, पिलर नम्बर ५ (१) र ५ (२) नम्बरका सीमास्तम्भलाई तारबार गरी आफ्नो क्षेत्रमा राखिएको र नयाँ निर्माण गरिएका र पुराना सीमास्तम्भको बनावट तथा अक्षरका लिपिसमेत फरक पाइएको उल्लेख छ । शाहीले त्यसबेला कांग्रेस पार्टी कार्यालयमा पेस गरेको यही विवरणका आधारमा बुधबार अध्ययनका लागि टोली गठनको निर्णय मन्त्रिपरिषद्बाट गराइएको हो ।
यस्तो छ नेपाल–चीन सीमा सम्बन्ध
सीमाविद् श्रेष्ठका अनुसार नेपाल–चीन सीमा सम्बन्ध सन् १९६० मा सीमा सुपरिवेक्षण र १९६१ अक्टोबरमा भएको सन्धिका आधारमा अघि बढेको छ । त्यसकै आधारमा सन् १९६२ मा नेपाल–चीन बाउन्ड्र्री प्रोटोकल (सीमा बडापत्र पनि भन्ने गरिन्छ) मा हस्ताक्षर भयो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ऋषिकेश शाहले हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि नेपाल–चीन सीमा निर्धारण गर्ने ठूला ७९ वटा खम्बा गाडिएको श्रेष्ठ बताउँछन् । त्यसको नवीकरण सन् १९७९ मा भयो । नवीकरणसम्बन्धी प्रोटोकलमा नेपालका परराष्ट्र्रमन्त्री केबी शाहीले हस्ताक्षर गरेका थिए । तेस्रो पटक नवीकरण सन् १९८८ मा भयो । त्यतिबेला परराष्ट्र्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको नेतृत्वमा ११ सदस्यीय टोली बेइजिङ गएको थियो । टोलीमा नापी विभागका तत्कालीन महानिर्देशक बुद्धिनारायण श्रेष्ठ पनि थिए ।
त्यसपछि भने दुई देशबीच सीमासम्बन्धी कुनै प्रोटोकलमा हस्ताक्षर हुन नसकेको श्रेष्ठले बताए । ‘हरेक १० देखि १५ वर्षमा सीमासम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो । तर, समयमै हस्ताक्षर नहुँदा कतिपय सीमावर्ती इलाकामा विवाद देखापर्छ,’ उनले भने, ‘यसलाई नै सम्बोधन गर्न सन् २००६ बाट दुवै देशका टोलीले काम गरिरहेकै छन्, सगरमाथाको विवाद समाधान भयो, लामाबगरमा बाँकी छ । त्यतातिर केन्द्रित हुनुपर्नेमा सरकार विवादै नभएको ठाउँमा हात हालेर कूटनीतिक सम्बन्धमा खटपट ल्याउने गतिविधिमा जोडिनु राम्रो होइन ।’ कान्तिपुर दैनिकमा खबर छ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend