Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम


    शुक्रबार, भाद्र ११ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो ।

    एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४ सय १९ प्रकारका औषधि मात्रै रहेका छन् । उनका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको हो ।

    अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९ सय २२ प्रकारका औषधि र २ सय ६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छवटा संस्थासँग सम्झौता भएको थियो ।

    ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको फार्मेसीका एक कर्मचारी बताउँछन् । उनका अनुसार अहिले फार्मेसी स्टोरले ६ सय प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको उनको भनाइ छ ।

    अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार समयमा औषधि नल्याउने ठेकेदार कम्पनीलाई आदेश गरेको समयभित्र नल्याएको भन्दै पत्राचारसमेत गरिएको छ । ठेक्का साकार गरेर समयमा औषधि नल्याउने महेश मेडिसिन, मेडसेन्स फर्मा, सागर मेडिकल हल, डिजिटल फार्मेसी, पायनियर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोभेसनलाई ताकेता गरिएको उनले जानकारी दिए ।

    इनोभेसन सर्जिकल सामग्री ल्याउने संस्था हो । बीमामार्फत औषधि पाइने भन्दै लामो लाइनमा बस्ने सेवाग्राही काउन्टरमा पुुग्दा औषधि नपाएपछि रित्तो हात फर्किनुपरेको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत बनेको बीमा कार्यक्रमप्रति ध्यान नदिँदा अस्पतालको आम्दानी मात्रै गुमेको छैन, सेवाग्राही प्रत्यक्षरुपमा मर्कामा परेका छन् । पछिल्लो समय मेडिकल सुपरिटेन्डेन्ट स्थायित्व नहुँदा अस्पतालका सबै विभाग कमजोर बन्दै गएका छन् ।

    अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले फार्मेसीमा आवश्यक औषधि व्यवस्था गर्न भनिएको भए पनि हुन नसकेको स्वीकारे। के कति कारणले हुन नसकेको हो अनुुगमन गरिने उनको भनाइ छ । यो संघीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार