Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘सत्ता कब्जाका लागि संविधानमाथि नै राजनीति’


    बिहिबार, भाद्र १० २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले राजनीतिक पार्टीका नेताहरुले सत्ता कब्जाका लागि संविधानमाथि नै राजनीति गरिरहेको आरोप लगाएका छन् । नेपाल कानुन समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानले उल्लेख गरेका व्यवस्थाहरुलाई गम्भीरतापूर्वक नलिई राजनीतिक नेताहरुले सत्तालाई मात्र बढी महत्व दिएको आरोप लगाए ।

    अर्का पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानमा भएको व्यवस्थालाई गलत रूपमा व्याख्या गरी राजनीतिक नेताहरुले राजाको पालामा जस्तो गलत कार्य गरिरहेका आरोप लगाइन् । उनले दलहरुभित्र पनि कोलाहल, एउटै दलका नेताहरु पनि मिल्न नसक्ने, जे कुरामा पनि आफैंले भनेको मात्र ठीक भन्ने प्रवृत्तिले गर्दा देशको अवस्था भताभुङ्ग भएको टिप्पणी गरिन् ।

    नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सर्वोच्चको परमादेशबाट वर्तमान सरकारको गठन भएको नभई सांसदहरुले हस्ताक्षर बुझाएपछि मात्र अदालतले नियुक्तिको प्रक्रियालाई प्रारम्भ गरेको जिकिर गरिन् । उनले भनिन्, ‘अहिलेको सरकार सर्वोच्चको परमादेशबाट बनेको होइन । सांसदहरुले संविधानको धारा ७६ (५) बमोजिम आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर गरेर मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको हो ।’

    नेकपा एमालेका नेता खिमलाल भट्टराईले हालको समस्या भनेको गलत रूपमा संविधानको व्याख्या गर्ने प्रवृत्ति भएकोमा जोड दिँदै संविधानको धारा ७६ (५) को व्यवस्थाको व्याख्या गर्दा गलत रूपमा भएको दाबी गरे ।

    कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले संविधानलाई कमजोर बनाउन दलहरु नै लागेको बताए । उनले राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुसार संविधानको व्याख्या गर्ने गरेको धारणा राखेका थिए। नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार