Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शंखरापुर नगरपालिकामा आजदेखि सिल


    शुक्रबार, जेष्ठ ९ २०७७
    2.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । शंखरापुर नगरपालिकामा आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । बिहीबार २ सय ९० जनामा गरिएको आरडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि उक्त नगरपालिका सिल गर्न लागिएको हो ।

    वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडीटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडीटी गरिएको थियो ।

    आरडीटी पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं। ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पीसीआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

    आरडीटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट काठमाडौं उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उनले बताए ।

    अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शंखरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार