काठमाडौँ । लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन्।
उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ।
पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए।
बाल्यकालमा उनी विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी हिँड्नुपर्थ्यो।
अन्तत: उनी एउटा विद्यालयका शिक्षक बने र पच्चिस वर्ष काम गरे। पछि उनी शिक्षक युनियनको नेता बने।
नेतृत्वमा तेजस्वी वृद्धिका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव विनै यस वर्ष कास्टियो पेरुको राष्ट्रपति चुनिए।
कास्टियोको विजयमा उनी हुर्किएकै जस्तो ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनले मुख्य भूमिका खेलेको बताइन्छ।
उनका चुनावी र्यालीहरूमा “एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन्” भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो।
त्यसले सङ्घर्षशील पेरुवासीलाई उनले आवाज दिएको रूपमा हेरियो। ‘मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो,’ उनले एक पटक भनेका थिए।
कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्छन्।
कास्टियो दुर्लभै रूपमा काजामार्का क्षेत्रको परम्परागत सेतो ह्याटविना देखिन्छन्।
त्यसले उनको मार्क्सवादी फ्रि पेरु पार्टीको पनि सङ्केत गर्छ र उनको शिक्षाको पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छ।
उनले देशलाई बहुसङ्ख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्छन् र गरिबी तथा असमानतालाई सम्बोधन गर्न “ठूलो परिवर्तन”का लागि आह्वान गरेका छन्।
त्यसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने कुरा पनि छ।
कास्टियोका विरोधीहरूले उनलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोसिस गरेका थिए। (बीबीसीको सहयोगमा)