काठमाडौँ, ६ जेठ । कोरोना भाइरस रोकथामको लागि आवश्यक पर्ने स्वास्थ्य सामान काठमाडौँ आइपुगेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको १८.८४ टन सामान काठमाडौं आइपुगेको छ।
सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार ल्याइएको सामानमा पिपिई, एन.९५ मास्क लगायतका सामान रहेको छ ।
नेपाल एयरलाइन्सको वाइडबडीमा ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो। नेपाल एयरलाइन्सको जहाज सोमबार साँझ त्यता गएको थियो।
सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो। कन्टेनरमा करिब ८ टन सामान भएको जनाइएको छ।
नेपाली सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिदका लागि चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको थियो। यसबाट करिब ३ सय ४१ टन चिकित्सकिय सामान नेपाल ल्याइनेछ।