Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्स्पेक्टरको अकूत सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी


    बुधबार, फाल्गुन २१ २०७६
    670
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा कार्यरत रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नेहरुको बिरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्ने गरेको छ । अख्तियारमा परेका उजुरी र विभिन्न सूचनाका आधारमा गैरकानुनी रुपमा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिको छानबिन हुने गरेको छ । अकूत सम्पत्ति आर्जन गर्ने माथिल्लो पदका मात्र हुन्छन् भन्ने छैन ।  निजामती सेवामा कार्यालय सहयोगी राजेन्द्र बस्नेतले भ्रष्टाचार गरी १० करोड रुपैयाँ स्रोत पुष्टी नहुने सम्पत्ति आर्जन गरेको अभियोगम अख्तियारले २०७६ माघ १६ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल प्रहरीका निरीक्षक विशाल भारतीले पदमा हुँदा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको छ । हाल महानगरीय ट्राफिक प्रहरी बृत्त महाराजगंजका प्रमुख रहेका इन्स्पेक्टर भारतीले इलाका प्रहरी कार्यालय काँकडभित्ता झापामा कार्यरत रहँदा भन्सार छली गर्ने ब्यापारीसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । 

    २०७६ माघ ८ मा परेको दर्ता नम्बर ७६७७सी २२६१९ दर्ता नम्बरको उजुरीमा बा १५ च ९६५८ नम्बरको हुन्डाई ग्रान्ड कार, मोटरसाइकल २ वटा, काठमाडौंको चावहिल गोपीकृष्ण हल पछाडि घर, भक्तपुरको बोडेमा जग्गा, नख्खु ललितपुरमा जग्गा, नयाँबानेश्वरको हिमालयन ज्वेलर्सलाई ८० लाख ऋण दिएको, नेपाल इन्भेष्टमेन्ट बैंकमा ६० लाख नगद रहेको उल्लेख छ । 
    इन्स्पेक्टर भारतीको नाममा नेपाल बैंकमा पनि ९० लाख र सिटिजन बैंकमा ६० लाख रुपैयाँ रहेको उजुरीमा उल्लेख छ । उनले यी सम्पत्ति श्रीमती र छोराका नाममा पनि राखेको दाबी गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभित्तामा कार्यरत रहनु अघि उनको नाममा रहेको सम्पत्ति र हालको सम्पत्ति छानबिन गर्न माग गरिएको छ । काँकडभित्तामा सरुवा हुनुअघि उनको आर्थिक अवस्था सामान्य रहेको थियो । तर काँकडभित्तामा सरुवा भइसकेपछि उनको आर्थिक स्थिति दिन दुई गुणा रात चौगुणाले बढेको उजुरीकर्ताले जनाएका छन् । उजुरीमा भारतीले छोरालाई अष्ट्रृलिया पठाउँदा २० लाख खर्च गरेको र बैंक ब्यालेन्स ४४ लाख देखाएको पनि उल्लेख छ ।

    आर्थिक बर्ष २०७५-०७६ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका १२ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुर र उनकी श्रीमती अनिता ठाकुरले गैरुकानुनी रुपमा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २०७५ असोज २१ मा मुद्दा दायर गरेको छ । 
    यातायात ब्यवस्था विभागका पूर्व महानिर्देशक चन्द्रमान श्रेष्ठ, उनकी श्रीमती जमुना तण्डुकार र अमेरिका बस्ने नवलपरासीकी भगवती योगीबिरुद्ध पनि मुद्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 
    त्यसका अलावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने कार्यमा संलग्न रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ, उनका बाबु ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्यामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, बुहारी रविना प्रधानाङ्ख, श्रीमतीहरु तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसमेतका बिरुद्ध अकूत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

    त्यस्तै अर्थमन्त्रालयका उपसचिव रामजी रिजाल र उनकी श्रीमती स्वस्थानी रिजाल, राजस्व समूहकै शाखा अधिकृत मानप्रसाद विक र श्रीमती आइतमाली विक, यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई पनि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

    त्यस्तै भन्सार कार्यालय कन्चनपुरका नासु रामप्रसाद भट्टराई र अध्यागमन कार्यालय एयरपोर्टका नासु ललितनारायण झाका बिरुद्ध पनि अकूत सम्पत्तिमा मुद्दा दायर गरिएको छ ।

    त्यस्तै सहायक वन अधिकृत विनोदकुमार सिंह, आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का, उनकी श्रीमती शर्मिला खड्का, अमिता लामा र सीजी डेभलपर्सबिरुद्ध पनि अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ । अख्तियारले पछिल्लो दुई महिनाका बीचमा राजस्व समूहका उपसचिव कृष्ण बस्नेत, राजेन्द्र ढुंगाना बिरुद्ध पनि गैरकानुनी रुपमा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार