एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल अन्तर्गत इटाली प्रवेश गरेको छ ।
शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।
खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए ।
खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो ।
यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो
पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बनेको थियो । समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।