Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार विशेष भत्ता


    शनिबार, असार १२ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आउनु भएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो ।

    ‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ । काम गर्न सक्दिन, यो भत्ता मेरा लागि सहारा बनेको छ,’ चिम्सा आँखासहित चमकदार अनुहार बनाउँदै लामाले भन्नुभयो, ‘मेयरज्यु र काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद । हामी डाँडामाथिका घाँम भइसकेकाहरुका लागि लौरोसँगै यो भत्ता पनि सहारा बनेको छ । म बहुत खुशी छु ।’ त्यसो त बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुग्नुभएका ८० वर्षीय दिपकराज पुडासैनीको पनि मुहारमा निकै चमक थियो । एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले भन्नुभयो,’ ‘यो भत्ता कसैलाई दिने होइन । यसले इच्छा लागेको खाने कुरा किनेर खाने हो । श्रीमती वाथ रोगी छिन् । नियमित औषधी खानुपर्छ । यहि पैसाले औषधी किन्ने हो ।’

    पुडासैनीले पनि लामाले जस्तै महानगरपालिकाले सम्मान स्वरुप दिएको भत्ताले आफूहरु खुशी भएको बताउनुभयो । पुडासैनीसँगै बस्नु भएकी तेजकुमारीले दिपकका कुरा नसिकदैँ आखाँ तेज बनाउँदै भन्नुभयो, ‘मैले पहिलो पटक महानगरपालिकाले दिएको विशेष भत्ता थाप्न पाएँ । औधी खुशी छु । यो हाम्रो उमेरका नागरिकका लागि साहरा हो ।’ वडा नम्बर–१८ नरदेवीमा भत्ता थाप्न आउनु भएका ८८ वर्षीय इन्द्रलाल महर्जनको पनि खुशी लामा र पुडासैनीसँगै मिल्दो–जुल्दो छ ।

    ८२ वर्षीया आशमाया महर्जनसँगै भेटिनुभएका इन्द्रलालले महानगरले एकमुष्ठ दिएको १२ हजार विशेष भत्ताले नियमित सेवन गर्दै आएको औषधी किन्ने, फलफुल खाने बताउनुभयो । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकालाई धेरैधेरै धन्यवाद र शुभकामना भन्न चाहन्छौँ,’ उहाँहरुले भन्नुभयो, ‘काठमाडौँ महानगले हामीलाई सम्मान गरेको छ । यो रकम भन्दा पनि हामीलाई गरेको सम्मान ठूलो कुरा हो । यस्तो सम्मानले हामीलाई अझै धेरै बर्ष बाँच्ने रहर पलाएको छ ।’

    काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गर्नुभएको थियो । महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ । यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।

    ‘७५ बर्ष उमेर पुगेका र काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ,’ विभिन्न वडामा महानगर विशेष भत्ता वितरणमा सहभागी हुनुभएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले विश्व नै कोभिडको कहरमा छ । यस्तो बेलामा बढी भिडभाड नहोस भनेर हामीले स्वास्थ्य मापदण्डको ख्याल गर्दै सकेसम्म उहाँरुको स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखेर घर–दैलोमै पुगेर विशेष भत्ता प्रदान गरिरहेका छौँ ।’ उहाँले कोही पनि जेष्ठ नागरिकले मेरो कोही छैन भन्ने महसुस गर्नु नपरोस् भनेर यो भत्ता प्रदान गरेको पनि जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि बिताएको भन्दै पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस् भनेर भत्ताको व्यवस्था गरेको बताउनुभयो ।

    ‘हामीले उहाँहरुका लागि जेष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गरिरहेका छौं । सहरका कोही पनि जेष्ठ नागरिकले अब एक्लो महसुस गर्नुपर्दैन,’ उहाँले भन्नुभयो । शाक्यले परिवारका लागि मात्रै होइन देशका लागि समेत विशिष्ठ योगदान गरेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सानो सहयोग गरेर काठमाडौँ महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरेको स्मरण गराउनुभयो । काठमाडौँ महानगरपालिका वडा नम्बर–९ की वडा सदस्य श्रृजना भेटवालले वडाका सबै वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमै पुगेर भत्तासँगै फलफुल वितरण गरेको जानकारी दिनुभयो ।

    ‘कोभिड कहरका कारण बढी भिडभाड नहोस भनेर हामीले उहाँहरुको टोल–टोल र घर–दैलोमै पुगेर यस प्रकारको भत्ता वितरण गरिरहेका छौँ ।’ गत बर्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ महिला गरी ७ हजार ५ सय ५७ जनालाई महानगरपालिकाले यस्तो प्रकारको भत्ता उपलब्ध गराएको थियो । यो भत्ता सामाजिक सुरक्षा भत्ता बाहेकको भत्ता हो । महानगरमा गएको बर्ष ४९ हजार ६ सय ८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार