Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्राफिकका एसपीको नाम लिंदै प्रहरीले टिफर मागेपछि… (अडियोसहित)


    शनिबार, असार १२ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय चितवन (प्रदेश ट्राफिक) का प्रमुख एसपी शान्तिराज कोइरालाले सरुवा हुनासाथ पुराना र बदनाम ट्राफिक पोष्टका इन्चार्जहरुलाई सरुवा गरे । तर पछिल्ला दिनमा उनले तिनै पुराना र अुसलीमा बदनाम भएकाहरुलाई नै बागमती प्रदेशका आकर्षक ट्राफिक पोष्टहरु चितवनको जुगेडी, गोन्द्राङ र हेटौंडाको मनहरीमा खटाएका छन् । उनले सई कृष्ण ढकाललाई गोन्द्राङको इन्चार्जमा पठाएका छन् । गोन्द्राङ ट्राफिक कमाइ हुने ठाउँ भएकाले पनि सरुवा हुने चाहना धेरैले राख्दैआएका छन् । तर ढकालले नै खुसी पारेकाले कोइरालाले उनलाई खटाएका छन् । जुगेडीमा क्रसर ब्यवसाय भएकाले पनि ट्राफिक प्रहरीमा सरुवा हुने प्रतिस्पर्धा हुने गरेको छ ।

     प्रदेश ट्राफिक ब्यवस्थापन कार्यालय कार्यालयमा १५ बर्षदेखि कार्यरत कृष्णजी ठकुरीलाई एसपी कोइरालाले सबैभन्दा आकर्षक हेटौंडाको मनहरीमा खटाएका छन्  । उनी प्रदेश ट्राफिक ब्यवस्थापन कार्यालय चितवन अन्तर्गत कुन पोष्टमा कति घुस असुली हुन्छ भन्ने जानकारी राख्नेमा पर्दछन् ।  सबैभन्दा बढी क्रसर र बालुवा उत्खनन् र ओसारपसार मनहरीमै हुने गरेको छ । पहिला चितवनमा डीएसपी हुँदा नै एसपी कोइरालाको ठकुरीसँग कनेक्सन भएकाले प्रदेश ट्राफिकको सेटिङ मिलाउने काम उनले गर्दैआएका छन् । ठकुरीकै सेटिङमा एसपी कोइराला धमाधम सरुवामा बदनामलाई नै छानीछानी गर्न थालेका छन् । 

    यसैक्रममा एसपी कोइरालाको आफन्तको घर निर्माणका लागि जुगेडीका प्रहरीले घुस माग गरेको अडियो बाहिरिएको छ । कोइरालाले चितवनको जुगेडी ट्राफिक प्रहरी पोष्टमा खटाएका प्रहरीले ब्यवसायीसँग घुस माग गरेको अडियोमा सुनिन्छ । एसपी कोइरालाको आफन्तको घर बनाउने भनेर जुगेडी ट्राफिकका प्रहरीले घुस माग गरेका छन् । आफन्तको नाममा मागिए पनि गीतानगरमा कोइरालाकै घर निर्माणका लागि माग गरिएको स्रोत बताउँछ ।

    डीएसपी हुँदा कोइराला चितवन जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । एसपीसँग लेनदेनमा विवाद भएपछि उनको अवधि नपुगी सरुवा भएको थियो । त्यतिबेला नै उनले गीतानगरमा जग्गा खरिद राखेको र अहिले घर निर्माण गर्न लागेका छन् । त्यसकै लागि मातहतका ट्राफिक प्रहरीमार्फत् क्रसर ब्यवसायीसँग बालुवा गिटी ओसार्न टिफर माग गरिएको अडियोको भावबाट बुझ्न सकिन्छ । अडियोमा टिफर माग गरिएको छ । र, त्यो टिफरबाट निर्माण सामग्री एसपीले भनेको गीतानगरमा पुर्याउनुपर्ने अडियो सुन्दा प्रष्ट बुझिन्छ । एसपीका नाममा टिफर सुरुमा सिपाहीले  मागेका छन् । तर ती सिपाहीको नाम खुलेको छैन । सिपाहीबाट पछि जुगेडी ट्राफिकका हवल्दार रमेश परियारले कुरा गरेका छन् । परियार एसपी कोइरालाका ड्राइभर समेत हुन् । टिफर ब्यवसायीले आफूलाई दुःख दिएको, ३० हजार जरिवाना तिरेको गुनासो गर्दछन् ।  

    आइजीपीको सचिवालमा पुगेको उक्त अडियो बागमती प्रदेश प्रहरीका तत्कालीन प्रमुख बसन्त लामालाई पनि पठाएको छ । तर अहिलेसम्म छानबिन र कारबाही भएको छैन । अडियो प्रकरणका सम्बन्धमा प्रदेश ट्राफिक प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले भने–‘टिफर पैसा तिरेर भाडामा लिन पाइहालिन्छ । टिफर देऊ, भोलि तिम्रो जरिवाना काट्दिन, कारबाही गर्दिनँ त्यो अडियोमा  प्रहरीले भनेको  छैन । नियत खराब राखेर टिफर मागेको देखिंदैन । एसपी साबका मानिसको लागि टिफर मागेको सुनिन्छ,  पैसा नतिरी देऊ भर्निको छैन ।’ 

    अडियो सुन्नुहोस् 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार