काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । हिजो शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको हो ।
शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक ९एसपी० सन्तोष सिंह राठौरले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।