काठमाडौं । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकूमा डेंगु परीक्षण किट खरिदमा अनियमितता भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले केही कर्मचारीहरुसँग पटक पटक बयान लिइसकेको छ । लामखुट्टे नियन्त्रणका लागि डेंगु परीक्षण किट खरिद गर्दा बजार मूल्यभन्दा ८ गुणा महंगोमा खरिद गरिएको बिषयमा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले सुरुमा छानबिन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै विभागीय कारबाही गर्न निर्देशन दियो ।
३ बर्षअघिको डेंगु परीक्षण किट खरिद अनियमितता प्रकरणमा स्वास्थ्य मन्त्रालयले कारबाही गरेन । तर किट खरिद प्रकरण अख्तियारले पुन जागृत गराई छानबिन गर्न सुरु गर्दा बदमासी देखिएपछि सम्बन्धित कर्मचारीसँग बयान लिने कार्य भइरहेको छ । छानबिनका क्रममा किट खरिदमा अनियमितता भएको देखिएपछि त्यसमा संलग्न तत्कालीन प्रक्योपमेन्ट अफिसर रुपनारायण खतिवडा र लेखापाल लेखनाथ कोइरालासहितका कर्मचारीलाई तीनपटक आयोगले बयान लिइसकेका छ । अस्पताल स्रोतका अनुसार पछिल्लो पटक २०७८ असार ८ गते पनि आयोगले खतिवडा र कोइरालासँग बयान लिएको छ ।
खतिवडा हाल उपसचिव बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । उनी अर्को भ्रष्टाचार काण्डमा ३ बर्ष निलम्बनमा परी फुकुवा भएको १ बर्षमात्र भएको छ । पुनः डिंगो किट खरिदमा पर्ने भएका छन् । उनी निलम्बन फुकुवा हुनासाथ खुल्ला प्रतिस्पर्धामा सहभागी भएर उपसचिव बढुवा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साउनमा स्वास्थ्य सेवा बिभागको टेकूस्थित पुर्नजागरण महाशाखाका महानिर्देशक आनन्दकुमार श्रेष्ठ, रुपनारायण खतिवडासहित १० जनालाई निलम्बन गर्न निर्देशन दिएको थियो । महाशाखाको आर्थिक बर्ष ०६८–६९ र ०६९–७० को को पेश्की फस्र्यौटका लागि पेश गरिएको बिलहरु नक्कली भेटिएपछि निलम्बन गरेको थियो ।
लेखापाल कोइराला नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष हुन् । उनी जहाँ जहाँ खरिदमा घुस बढी आउँछ, लेखापाल (नासु) प्रम्ुख हुन्छ, त्यही कार्यालयमा जाने गरेका छन् । ३ बर्षदेखि सरुवा रोग अस्पतालको लेखापाल भएर उनी हरेक खरिदमा घुस असुल्न तल्लीन छन् ।
शान्तिकोषमा ४ बर्ष कार्यरत रहेका उनी हरेक बर्षको लेखा समूहको सरुवामा आफ्नो सरुवा कमाउ ठाउँमा गराउन मात्र तल्लीन हुुने गरेका छन् । शान्तिकोष बन्द भएपछि उनी सरुवा रोग अस्पतालमा गएका हुन् । गतबर्षको लेखा समूहको सरुवामा महालेखा नियन्त्रक गोपी मैनालीले २ बर्ष अवधि पुगेका उनको सरुवा गर्न खोजेपछि सारा संगठनको शक्ति आफ्नो थमौतीमा लगाएको आरोप कोइरालामाथि लागेको थियो । निजामती कर्मचारी संगठनले कर्मचारीको सरुवाको बारेमा हेर्ने जिम्मा उनलाई दिएको छ, तर उनी भने कमाउ ठाउँमा आफ्नो सरुवा गराउनेतिर मात्र केन्द्रित हुने गरेका छन् । यसले संगठनभित्रै कर्मचारीहरुले उनको बिरोध गर्दैआएका छन् ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई इमान्दार छविका हुन् । तर लेखापाल कोइरालाले उनको नाम लिंदै डिंगो किटको अनियमिततामा आफूलाई राईले केही नहुने आश्वासन दिएको भन्दै उनको बदनाम गरिरहेका छन् । आयोगले छानबिन गहन छानबिन थालिसकेकाले डिंगो किट खरिद प्रकरण मुद्दामै जाने संभावना बढेको अख्तियार स्रोतले बताएको छ । यस्तो नांगो भ्रष्टाचारमा जतिसुकै दबाब परे पनि आयोगले मुद्दा दर्ता गर्ने संभावना प्रबल छ ।
डेंगु परीक्षण किट खरिदमा अनियमितता भएको र अख्तियारले छानबिन गरेको बारेमा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने–‘३ बर्षअघिको घटना हो । मिलिसक्यो होला ।’
अस्पतालका सूचना अधिकारी नवराज गौतमले डेंगु परीक्षण किट खरिदमा भएको अनियमितताबारे अख्तियारले छानबिन गरेको जानकारी आफूलाई नभएको बताए ।