काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मासहित तीन जनाबिरुद्द एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार २०७१ सालमा गठित कर फछर्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्ध अभियोग पत्र दर्ता गरिएको हो । शर्मा तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक र आयोगका सदस्य सचिव समेत दिए ।
उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।
अख्तियारले तत्कालिन कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र तत्कालिन आन्तरिक विभागका महानिर्देशक चुडामणि शर्मा ढकालको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको बताएको छ ।
उनीहरुविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) (झ) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता रिसालले जानकारी दिए ।