एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियम समूह विजेता बन्दैको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।
फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे ।
यस जितसँगै समूह ‘बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।