Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संरक्षकविहीन बालबालिका सरकारले जिम्मा लिने


    मंगलबार, असार ८ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । कोरोना महामारीका कारण आमाबुवा वा संरक्षक गुमाएर संरक्षकविहीन बनेका बालबालिकाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने भएको छ ।
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले सूचना जारी गरेर देशभर त्यस्तो अवस्थामा रहेका बालबालिकाको विवरण पठाउन आग्रह गरेको छ ।

    महामारीका कारण संरक्षकविहीन बालबालिकाको विवरण सङ्कलनका लागि केन्द्रीय स्तरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाई र राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसाल सम्पर्क व्यक्ति तोकिनुभएको छ ।

    हाल स्थानीय तहले कोरोनाका कारण आमाबुवाको मृत्यु भएको र उनीहरूको हेरचाहका लागि अन्य संरक्षकसमेत नभएका बालबालिकाको विवरण मन्त्रालय तथा परिषद्मा पठाउन सुरु गरेको छ । देशभरका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका संरक्षकविहीन बालबालिकाको यकिन तथ्याङ्क सङ्कलनका लागि धमाधम सार्वजनिक सूचना पनि जारी गरिरहेका छन् ।

    राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक एवं उक्त कार्यका लागि सम्पर्क व्यक्ति तोकिएका नमुना भुसालले हालसम्म चार/पाँच बालबालिकाको विवरण आएको र अन्य आउने क्रममा रहेको
    जानकारी दिनुभयो ।

    राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले अनाथ बालबालिका, सडक बालबालिकालगायत जोखिममा परेका सबै बालबालिकालाई सरकारले संरक्षण गर्दै आएकोमा महामारीले संरक्षकविहीन अवस्थामा पुगेका बालबालिकाको संरक्षणको काम पनि थालेको बताउनुभयो । गोरखापत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार