काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारीका बेला काममा खटिएका श्रमजीवि पत्रकारलाई पारिश्रमिक नदिएको, कामबाट निकालेकोजस्ता गुनासो आएपछि नेपाल पत्रकार महासंघ अनुगमनमा निस्कने भएको छ ।
महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सोमबारबाट सञ्चार गृहमा अनुगमनमा जाने जानकारी दिएको हो ।
‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रमजीवि पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न पनि महासंघले भनेको छ ।
