मेलम्ची । राहत वितरण गर्न गएका अनेरास्ववियूकाे टाेली र सिन्धुपाल्चोकका मेलम्चीवासीबिच लफडा भएकाे छ।
राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि स्थानीयले असन्तुष्टि जनाउदै ब्यानर च्यातिदिएपछि लफडा भएकाे हाे ।
बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले पार्टीको ब्यानर च्यातिदिए ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्यो । विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’ त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए ।
‘भर्खर मनसुन सुरु हुँदैछ, कम्तिमा ३ महिना घर फर्किन सक्ने अवस्था छैन,’ उनले थपे, ‘त्यही भएर व्यवस्थित गर्न खोजिएको हो ।’
अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेल बताउँछन् ।