Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनियमिततामा मुछिएका दुई एसपीमाथि छानबिन सुरु


    आइतबार, असार ६ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौ । स्याउ तस्करीको बिषयमा सुनसरीका एसपी कमल थापामाथि छानबिन भइरहेको छ ।  सुनसरीको लौकही नाकाबाट तस्करी भएको चिनियाँ स्याउ केही दिनअघि भारतको बिहार राज्यको वीरपुरमा बरामद भएपछि एसपी थापामाथि छानबिन भइरहेको छ । १ हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा एसपी थापाकै मिलेमतो देखिएपछि उनी छानबिनमा तानिएका छन् । 

    कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएको अवस्थामा नेपालको बाटोबाट चिनियाँ स्याउ भारत तस्करी भएको बिषयलाई अख्तियारको इटहरी कार्यालयले गम्भीर रुपमा लिएको छ । र, यसबारेमा नेपाल प्रहरीको मात्र होइन, सशस्त्र प्रहरीको पनि मिलेमतो रहेकाले दुवै संगठनका अधिकारीमाथि छानबिन गर्ने भएको छ ।

    सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका एसपी माधव पौडेलमाथि पनि छानबिन गर्न नेतृत्वमाथि दबाब परेको छ । सशस्त्रको श्रीपुर बीओपीका इन्स्पेक्टरको सेटिङमा स्याउ भारततर्फ तस्करी हुने गरेको सूचना पाएर पनि एसपी पौडेलले कारबाही नगरी संरक्षण गर्दैआएको आरोप छ ।

    सुनसरीमा नेपाल प्रहरीका एसपी सरुवा भएको १६ महिना भइसकेको छ । सुरुमा ६ महिना तस्करी नियन्त्रण गरेजस्तो देखाएर १ बर्षयता नेपालबाट पेट्रोलियम पदार्थ, हरियो केराउ, सुपारी भारततर्फ तस्करीको लाइन चलाएर एसपी थापाले लाभ लिएको आरोप छ ।

    एसपी थापा अनियमिततामा मुछिएको उजुरी प्रदेश नं १ प्रहरी कार्यालय बिराटनगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत परेको छ । तर डीआइजी इश्वर कार्कीलाई पनि भागबण्डा बुझाएकाले उनलाई केही कारबाही हुन सकेको थिएन ।

    भारतसँग सीमा जोडिएका सुनसरीका प्रमुख व्यापारिक नाका भन्टाबारी र लौकहीमा एसपी थापाले २०७८ जेठ १७ मा सई गंगा थापालाई सरुवा गरेका छन् । उनी एसपी थापाका नाताभित्रकै भएकाले तस्करीको लाइन चलाउन पठाइएको समाचार स्रोतले बताएको छ ।भारतीय सीमा नाकामा मासिक दररेट नै तोकेर इन्चार्ज खटाउने गरेको आरोप पनि थापामाथि लाग्ने गरेको छ ।

    कोरोना महामारीका कारण निषेधाज्ञा लागू गरिएको बेलामा नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ भारतमा बरामद भएपछि एसपी थापाको सेटिङ छताछुल्ल भएको हो ।

    धनुषाका एसपीमाथि पनि छानबिन सुरु

    यसैबीच, लागूऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट पनि छानबिनमा तानिएका छन् । ४ महिनाअघि २०७७ फागुन ८ मा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको थियो ।

    सो घटनामा एसपी रानाभाटले अवैध लाभमा मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । अहिले उक्त छानबिन समितिले धनुषा गएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

    सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा हुँदा उजुरीमा मोलमोलाई गरेको आरोप लागेका रानाभाट बागमती प्रदेश प्रहरी कार्यालयको एसपी हुँदा पनि घुसकाण्डमा मुछिएका थिए । उनकै कार्यालयमा कार्यरत प्रहरीलाई प्रदेश प्रहरी कार्यालय बागमतीबाट खटिएको अनुगमन टोलीले घुससहित पक्राउ गरेको थियो ।  अपराध अनुसन्धान महाशाखामा केही समय काम गर्दा पनि उनले दीपक थापालाई पनि विवादमा पार्नेगरी ठेक्कापट्टाका मुद्दामा बढी चासो राखेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार