काठमाडाैं । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।
‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो ।’
महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन् ।
‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ’, प्रनानि गुरुङले भने, ‘स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन्।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । रु तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।
त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापुसमेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए ।
‘गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको थियो । त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो,’ उनले भने ।
महाकालीले १५ घर डुबानमा
महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । गए राति नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको नेतृत्वमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टको नेतृत्वमा रहेको सात जनाको टोली तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका परिवारलाई पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
उद्धार गरिएका परिवारमा आलोक दमाई, पुरन दमाई, शङ्कर आग्री, चोकवीरे दमाई, जीतबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको परिवार छन् ।
महाकाली नदी बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ। भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि छ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ। महाकाली नदीमाथि निर्माण भइरहेको चार लेनको पक्की पुल जोड्ने पहुँचमार्गको २५ मिटर सडक बाढीले कटान गरी बगाएको छ। सोही स्थानबाट नदी बगिरहेको छ ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो क्रममा रहेको छ । बिहान छ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्यूसेक रहेको छ । राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्यूसेकसम्म पुगेको थियो ।