काठमाडौँ। जारी निषेधाज्ञाको नयाँ मोडालिटी तयार गर्न उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।
काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार आज अपरान्ह ४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बस्दैछ ।
उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन(कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए ।
यसैबीच, उपत्यकामा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर निरन्तर घट्दै गएपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै लगिएको छ । पछिल्लो हप्ता संक्रमण दर घटेपनि सरकारले भने फेरि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको छ ।
स्रोतका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)लाई यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी दिइएको बुझिएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउछन् ।
निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारी साधनमा जोरबिजोरलगायतका उपाय अवलम्बन गर्न सकिने सीसीएमसीका अधिकारीहरू बताउँछन् ।
यसैगरी यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको बुझिएको छ।
होमडेलिभरी तथा अनलाइन सपिङ पनि स्मार्ट लकडाउनको महìवपूर्ण पक्ष हो । ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा र स्मार्ट निषेधाज्ञामा निकै भिन्नता रहेको बताउछन्। निषेधाज्ञाको अगाडि स्मार्ट लगाए पनि स्वरूप र प्रकृतिका विषयमा अन्योल छ, उनले भने ।
वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको दुई महिना बितेको छ । सो अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम यथावत् रहेको भनाइ स्वास्थ्य विज्ञहरूको छ ।