भोजराज ढकाल
इतिहासमा कुपात्रहरु जन्माइन्छन् । हाम्रा पौराणिक ग्रन्थहरुले समेत पुष्टि गरिसकेको बिषय हो । चाहे ती भष्मासुर हुन् अथवा धुन्धुकारी किन नहुन् । आफैं जन्मिएका हुँदैनन् । एउटा अध्यायको छिनोफानोपछि अन्त्य गरिन्छ । नेपाली राजनीति पनि यसबाट अछुतो छैन । देशी बिदेशी शक्तिहरु स्वयंले नेतृत्व निर्माण गर्छन् । शिखरमा नपुगेसम्म चिनिंदैन, ठम्याउन सकिंदैन । नेकपा (एमाले)को जीवनमा ठीक त्यस्तै भएको अड्कलबाजी हुँदैछ । नियन्त्रण गर्न हम्मेहम्मे पर्यो । ५ लाख भन्दा अधिक कार्यकर्तासँग पुर्पुरोमा हात समाउन बाहेक कुनै उपचार छैन । आम जनविश्वास गुमेर गयो । आफूले कठोर तपस्याबाट निर्माण गरेको सुन्दर घर छोडेर जान समेत अग्रज नेता र नेतृत्व तयार भएको देखिन्छ । समाजमा सबै राजनीतिक पार्टी र पात्र उस्तै हुन् भन्ने सन्देश गयो । सिंगो प्रणाली फोहोर भएको अडकलबाजी गर्न थालिएको छ । आज पनि सिंगो एमाले पंक्तिको सफ्टवेयर खराब छैन तर हार्डवेयरले काम गर्न नसकेको सत्य हो ।
अचुक औषधि पनि छैन र सिंगो पंक्तिमा निराशा छाएको देखिन्छ । लड्न सकिरहेका छैनन् । नयाँ नयाँ उपायहरुको खोजी हुँदैछ । नयाँ घर निर्माण गर्नुपर्छ भन्ने ठुलो पंक्ति पनि छ । बिबेकशील भएर उपचारको खोजी गर्नुपर्छ भन्ने पनि प्रशस्त भेटिन्छन् । सत्य सधैं कमजोर हुन्छ । ठुलो कष्ट बहन गर्नुपर्छ । तितरबितर हँुदैछ । कुनै पनि कुराको क्लाइमेक्स हुन्छ । निदान नहुने कुनै समस्या हँुदैन । एमालेको इतिहासमा अचम्मले बिकसित भयो प्रदुषण । जुन कसैले कल्पना पनि गरेका थिएनन् ।
संसदीय शासन प्रणालीमा पार्टी सर्वोेपरी हुन्छ । प्रत्यक्ष कार्यकारी शासन प्रणालीमा ब्यक्तिले पार्टी नियन्त्रण गर्न सक्छ । अझ हाम्रो कम्युनिष्ट पार्टीको मूलभूत चरित्र पार्टी प्रधान हुन्छ । नेतृत्व पार्टीले निर्माण गर्छ । दृश्य अदृश्य रूपमा सरकार पार्टीले संचालन गर्दछ, ब्यक्ति गौण हुन्छ । नेतृत्वलाई छाडा हुनबाट पार्टीले नियन्त्रण गर्छ । हरेक निर्णयको स्वामित्व पार्टीले ग्रहण गर्नुपर्छ । सबै नियुक्ति र नेतृत्वको सेटलमेन्ट पार्टीले निर्धारण गर्दछ । बिश्व जगतमा कम्युनिष्ट नेतृत्व र सरकार स्वच्छन्द भएपछि कम्युनिष्ट बिसर्जन भएको सत्य नकार्न सकिंदैन । रणनीतिक रूपमा पार्टीभन्दा माथि ब्यक्ति हो भन्ने कुप्रचार गरियो । ब्यक्ति हावी नभई अवसरवादी र स्वार्थी समूहको स्वार्थ पूरा हुँदैनथ्यो ।
सबैको आँखाले हेर्दा पात्र दोषी देखिन्छ । ती कसैको गोटीमात्र हुन् । पात्र निर्माण गर्नेका केही पूर्वनिर्धारित अभिष्ट हुन्छन् । अस्थिरता सृजना गर्नु पहिलो उद्देश्य हो भने अस्थिरताभित्र आफ्नो स्वार्थ सिद्ध गर्नु अर्को उदेश्य लुकेको हुन्छ ।
हाम्रो नेतृत्व निर्माण प्रक्रियामा खराबी छ । ४० बर्षदेखि एउटै पार्टीमा रहेर नेतृत्व निर्माण भएको हो । कुनै दैवी शक्तिको उपहार पक्कै होइन । पात्रको जस्तोसुकै प्रवृत्ति भए पनि चुनाव जिताइन्छ । जो धेरै क्रान्तिकारी हुन्छ त्यस्ता पात्र नै नेपालमा नेतृत्वमा स्थापित हुन्छन् । भारतमा एउटा शब्द रड्किए बापत अटल बिहारी बाजपेयीको सत्ताच्यूत भयो । अमेरिकामा ओबामाको धेरै आलोचना गरेबापत हिलारी सत्तामा पुग्न असमर्थ भइन् । नेपालमा राजनीतिक नेतृत्वका लागि कुनै योग्यता आबश्यक पर्दैन । जसले सडकमा धेरै ढुंगा बर्साउँछ, जो नेतृत्वको धेरै नजिक छ, जो प्रतिस्पर्धीलाई धेरै गाली गलौज गर्नसक्छ, त्यस्ता पात्र क्रमशः नेतृत्वको पिरामिड आकार ग्रहण गर्छ । आफ्ना सन्तानलाई अमेरिका र अष्ट्रेलियाको पीआर लिन बाध्य बनाउँछ । नेपालमा राष्ट्रियताको सबैभन्दा धेरै वकालत उसैले गर्छ, समाजमा जो कोही कतै बिक्री हुँदैन, सबैभन्दा अराजक छ उसको सबैभन्दा उत्तम पेशा राजनीति भयो । नेतृत्व निर्माण प्रक्रियाको बारेमा नयाँ शैली सोच्ने उपयुक्त समय हो । भोलि कोही अर्को पात्र नजन्मिएला भन्न सकिंदैन ।
पार्टीभित्रको प्रतिस्पर्धा पूर्ण प्रतिस्पर्धा बजारको जस्तो हुनुपर्छ, अल्पाधिकार बजारको जस्तो होइन । सुन्दा पूर्ण प्रतिस्पर्धा जस्तो लाग्छ तर यो आइडल प्रतिस्पर्धा हो । अल्पाधिकार मात्र यस्तो बजार हो जहाँ प्रतिस्पर्धीलाई मृत्युमा पुर्याउन नेगेटिभ मुल्यमा बस्तु बिक्री गर्न तत्पर हुन्छन् । एमालेभित्रको गतिविधि हेर्दा कम्युनिष्ट बिसर्जन भएको जस्तो देखिन्छ । पार्टी जस्तो पवित्र सस्थामा कोही आउनु हँुदैन भनेर कार्टेलिङ हुन्छ । दशकौं दुःख कष्टले पार्टीलाई सत्तामा पुर्याउने र कुनै खास पात्र र प्रवृत्तिका कारण क्षयीकरण हुने हो भने जनबिश्वास गुमेर जान्छ । पुनः सर्भाइभ गर्न ठूलो चुनौती हुन्छ ।
एमालेभित्र पुस्तान्तरणको कुरा बृहत् रूपमा उठेको छ । तीन बर्ष अगाडि एक नेताले विनम्रतापूर्वक पुस्तान्तरणको कुरा गर्नुभयो । चाकरी र चम्चेहरुले राणाहरुलाई बिपरीत र उट्पट्याङ्ग कुरा सुनाए जस्तो नेतृत्वलाई सिध्याइदिने भन्दै उल्टो कुरा लगाए । ठूलो अपराध हो तह लगाउनुपर्छ भन्दै चरण छोएर लाभ लिए । आज तिनै युवापंक्ति पुस्तान्तरणको कुरा गर्दैछन् । जो नेतृत्वमा जानु छैन, नेतृत्व लिने कल्पना पनि गर्दैन, ती युवा पंक्ति कसैको सहारामा अबसर प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्दछ । पुस्तान्तरण स्वभाबिक प्रक्रिया पनि हो । सबै पार्टी र नेतृत्वमा पहिलो पुस्ताको भुमिका महत्त्वपूर्ण छ । पुस्तान्तरणको बिश्वसनी आधार पनि देखिंदैन ।
पार्टी बिग्रदा कस्तो हुन्छ एमालेलाई हेर्ने समय आएको छ । पुस्तौंपुस्तासम्म उदाहरण हुन सक्छ । पद र सत्ताको संस्कृति निर्माण गरियो । अस्वभाविक नियुक्ति र पदको बितरणले सबैको मानमर्दन भयो । नेतृत्वको अपारदर्र्शी निर्णय, न्यायको सिद्धान्त अबलम्बन गर्न नसक्नु, फराकिलो छात्ती बनाउन नसक्नु जस्ता मूलजड बाट झागिदै इगो र जुँगाको लडाइँमा एमाले पुगेको हो ।
नेतृत्वको अकर्मण्यताले पार्टी अनियंत्रित ढंगले अगाडि बढ्दैछ । एमालेको क्षयीकरण अथवा बिसर्जन रोक्न संजीवनी बुटी भन्दा सानो कुनै उपचारले निदान गर्न सक्तैन । एमालेको सानो सुखद पक्ष भनेको जनबिश्वास आज पनि जीवित देखिन्छ ।
(लेखकः नेकपा एमाले, बागमती प्रदेश कमिटी सदस्य तथा प्रगतिशील प्राध्यापक सगठन केन्द्रीय सदस्य हुनुहुन्छ)