Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुच्छ्रेतारा यो साता नेपालबाट देखिने


    आइतबार, बैशाख २८ २०७७
    640
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, २८ बैशाख ।खगोलविद्ले यो साता (२०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको  जनाएका छन्।

    खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन्। यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मिकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए।

    नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रेतारा देखिने छ। यो पुच्छ्रेतारा वैशाख ३० गते मङ्गलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ। पूर्वी क्षितिजभन्दा केही माथिमात्र देखिने भएकाले यसलाई हेर्न अलि कठिन हुने उनले बताए।

    गत चैतमा पत्ता लागेको यो पुच्छ्रेताराको चमकपन ३.५ म्याग्निच्युड हुने जनाइएको छ।

    क्षितिजबाट यो धूमकेतु १५/२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ। सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रूपमा देख्न सकिने खगोलविद् आचार्यले बताए।

    धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश आदि शुभकार्य गर्नुहुँदैन भनी ‘मुहूर्त चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ। यस विषयमा वैज्ञानिक रूपमा हालसम्म कुनै पुष्टि भने नभएको उनले बताए। यो धूमकेतु उत्तरपूर्वमा देखिने छ। शास्त्रमा उत्तरतिर देखिने धूमकेतुको फल राम्रो भनी व्याख्या गरिएको छ। दक्षिणतिर देखिने धूमकेतुको फल नराम्रो मानिएको छ।  यसपटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले राम्रो फल दिने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार