Nepal Face
  • बुधबार, १० मंसिर २०८३
  • काठमाडौं महानगरले गर्‍यो अटिजम स्कुलको शिलान्यास


    बुधबार, मंसिर १० २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन् ।

    शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले अरूसरह समान रूपमा पढ्न र अधिकार उपभोग गर्न पाउनुपर्ने बताइन् । अटिजम वा शारीरिक अशक्तताकै कारण कोही पनि बालबालिका शिक्षा लगायतका अधिकारबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् ।

    ‘हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार छ । तर, अटिजम वा फिजिकल डिसेबिलिटीका कारण शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छन्,’ डंगोलले भनिन्, ‘अटिजम लगायतका इन्टिलेक्चुअल र फिजिकल डिसेबिलिटी यसका बाधक हुनुहुँदैन भनेर हामी सबैले परिकल्पना गरेको सहर हो काठमाडौं ।’

    काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई सहयोग र सेवाको आवश्यकता बढ्दै गएकाले यो भवन बहुउपयोगी हुने विश्वास उनले व्यक्त गरिन् । उनका अनुसार महानगरले निर्माण गर्न लागेको यो संरचना अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकको सहायताका लागि उपयोगी हुनेछ ।

    ‘देशको हरेक कुनाकाप्चामा यो अधिकार प्राप्त गर्न फिजिकल इन्फ्रास्ट्रक्चरदेखि हरेक व्यवस्था तय होस् भनेर हामीले साझा सपना बोकेका छौँ,’ डंगोलले भनिन्, ‘आज ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ को शिलान्यास गर्नुको अर्थ भवनको मात्र शिलान्यास होइन, हामी सबैले कल्पना गरेको मानवता र करुणाको सहरमा एउटा इँटा थप्ने काम भएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार