Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • रसुवा बाढी: मृतकको सङ्ख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता


    सोमबार, भाद्र २२ २०८३
    50
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो ।

    २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

    प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् । जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।

    हालसम्म ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् । प्राधिकरणकाअनुसार सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।

    उद्धार कार्यमा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन् । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन् ।

    खोज तथा उद्धारका लागि कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार