Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • त्रिशूली ३ ‘ए’को भित्री भाग सुरक्षित हुनसक्छ: इन्जिनियर श्रीराम न्यौपाने


    बिहिबार, भाद्र १८ २०८३
    80
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धार कार्य निरन्तर रूपमा जारी छ। उद्धारकर्ताहरु अवरोध पन्छाउँदै भित्रसम्म जाने प्रयास गरिरहेका छन्।

    केबल डक्ट सुरुङको प्रवेश क्षेत्रको निकासमा रहेका २ दर्जनभन्दा बढी ठूला ढुंगाहरू विस्फोट गरी हटाइ सकिएको छ।

    भाद्र १३ गतेदेखि नियमित रूपमा २ वटा एक्साभेटर परिचालन गरी त्यहाँबाट ५ दिनसम्म करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकार सम्मका ठूला ढुंगाहरू पन्छाउने कार्य सम्पन्न भएको उद्धार स्थलमा रहेको सांसद् तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए।

    यस क्रममा आवश्यकता अनुसार ब्रेकर प्रयोग गरी फुटाउने तथा विस्फोटक पदार्थ मार्फत नियन्त्रणित रूपमा पड्काउने कार्य २४ सै घण्टा सञ्चालनमा रहेको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएका छन्।

    हाल सुरुङको मुखबाट करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरि सकिएको छ। ५.५ मिटर अग्लो सुरुङ मध्ये बाँकी करिब ३ मिटर गहिराइको पहुँच तथा निकास प्रणाली निर्माण सम्पन्न भएपछि मात्र भित्र जम्मा भएको लेदो हटाउने कार्य प्रारम्भ गरिने उनको भनाइ छ।

    सुरुङ भित्रको प्रारम्भिक अवलोकन अनुसार आँखाले देख्न सकिने करिब १ मिटर भित्र सम्मको भागमा पूरै मुख लेदोले भरिएको देखिएको छ। हाल सुरुङबाट करिब २ लिटर प्रति सेकेन्डको दरले विना दवाव पानी बाहिर निस्किरहेको छ, जसले सुरुङ भित्र पानी जमेको अवस्था नरहेको संकेत गर्ने न्याैपानले बताए।

    उनले सुरुङको बाहिरी भागमा गेटको स्ल्याब, काठका २ ठूला ठुटा तथा ठूला ढुंगाहरूले अवरोध गरेको पाइएको छ। यस अवस्थाले सुरुङ भित्र पानी र लेदो बाहेक ठूला ढुंगाहरू प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार