Nepal Face
  • सोमबार, १५ भाद्र २०८३
  • कार्यालय प्रमुख र मेकानिकल अधिकृत छैटौँविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    सोमबार, भाद्र १५ २०८३
    130
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि सेवाग्राहीलाई भुक्तानी उपलब्ध गराउने क्रममा घुस लिएको आरोपमा दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा भाद्र १० गते आरोप पत्र दायर गरेको हो।

    आयोगका अनुसार सेवाग्राहीसँग रकम माग गरिएको सूचनाका आधारमा खटिएको टोलीले ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानका क्रममा दुई अधिकारीको मिलेमतोमा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको पाइएको आयोगले जनाएको छ। आयोगका अनुसार ती समितिहरू वास्तविक प्रक्रिया पूरा गर्न नभई कागजी रूपमा देखाउन गठन गरिएको थियो।

    उपभोक्ता समितिले पूरा गर्नुपर्ने प्रक्रिया तथा आवश्यक कागजातसमेत सम्बन्धित अधिकारीहरूले आफैँ तयार गर्ने र गराउने गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। समितिको छाप र अध्यक्षको हस्ताक्षर प्रयोग गरी भुक्तानी प्रक्रिया अघि बढाएबापत सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ लिएको आयोगले जनाएको छ।

    आयोगले दुवैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गर्दै ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूविरुद्ध कैद, बिगोबराबर जरिवाना तथा कानुनबमोजिम बिगो असुलउपरको मागदाबी गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार