Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • चितवनमा पहिचान नखुलेका २२८ शव डीएनए सुरक्षित राखेर गाडियो


    शनिबार, भाद्र १३ २०८३
    175
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ ।

    चितवनमा फेला परेका २३३ शवमध्ये हालसम्म पाँच जनाको मात्र सनाखत भएको छ । बाँकी शवहरू सड्न-गल्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गाड्ने कार्य अघि बढाइएको हो । अस्पतालमा लामो समय फ्रिजिङ गरेर राख्न सम्भव नभएको र शवबाट दुर्गन्ध फैलिनुका साथै महामारी तथा सङ्क्रमणको जोखिम उच्च भएपछि प्रशासनले तत्काल व्यवस्थापनको कदम चालेको हो ।

    शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका-१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जङ्गलमा स्थान तयार पारिएको छ । सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी करिब १.५ मिटर गहिरा तीनवटा ठूला खाडल खनिएका छन् ।

    चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार पहिचान नखुलेका सबै शवहरूलाई ‘डेड बडी ब्याग’ भित्र सुरक्षित राखेर मात्र खाल्डोमा राखिनेछ । शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त मात्रामा उपलब्ध रहेको उनले बताए ।

    अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को विपद् व्यवस्थापन मापदण्डअनुसार प्रत्येक शवलाई एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको मिलाएर लस्करै राखिनेछ । एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ । शवको पहिचान पछि पनि नगुमोस् भन्नका लागि विशेष कोडिङ प्रणाली लागू गरिएको छ । प्रत्येक शवको हात वा खुट्टामा कहिल्यै नष्ट नहुने नम्बरसहितको ट्याग बाँधिनेछ । शवलाई माटोले पुरेपछि जमिनमाथि एक फिटको ढलान गरी बाहिरबाटै प्रष्ट देखिने गरी सोही कोड नम्बरसहितको स्ट्यान्ड खडा गरिने एसपी पौडेलले जानकारी दिए ।

    शव गाडिए पनि पहिचान र खोजीको प्रक्रिया निरन्तर जारी रहनेछ । समाधिस्थ गर्नुअघि प्रत्येक शवबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी सुरक्षित राखिएको छ । ‘बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा आफ्नो डीएनए नमुना दिन सक्नेछन्,’ एसपी पौडेलले भने, ‘यहाँ सुरक्षित राखिएको डीएनए र परिवारको डीएनए परीक्षण म्याच भएको खण्डमा, जमिनमाथि राखिएको सङ्केत नम्बरका आधारमा शव निकालेर परिवारको जिम्मा लगाइनेछ।’

    यो सम्पूर्ण प्रक्रियाको निष्पक्षता र प्रमाणका लागि संयुक्त मुचुल्का तयार पार्नुका साथै भिडियो, तस्बिर र जीपीएस सुरक्षित राखिनेछ । साथै, शव समाधिस्थ गरिएको क्षेत्रलाई जङ्गली जनावर वा अन्य जोखिमबाट सुरक्षित राख्न चारैतिर बलियो तारबार गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार