काठमाडौं, २४ असार । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ। नेपालले हङकङ विरुद्ध ६ विकेटको जित दर्ता गराएको हो। उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ।
नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । हङकङले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे । यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३।१ ओभरमा मात्र ९५ रन मा समेटियो । हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।
त्सैगरी कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।