काठमाडौं, १९ बैशाख । कोरोना भाइरसको महामारीका कारण विश्वमा दैनिक हजारौं मानिसको मृुत्यु भइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । तर यस्तो महामारीमा पनि घुस खानेहरु देखिएका छन् । यस्तो महामारीमा घुस लिनेलाई त राष्ट्रद्रोहमै मुद्दा चलाउनुपर्ने हो । तर कानुनमा ब्यवस्था नभएकाले चलाउन मिल्दैन ।
कैलालीको गौरीगंगा नगरपालिका–१० निवासी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीको घरायसी झगडालाई उग्र बनाई प्रहरीकहाँ लगेर दुई पक्षलाई दुःख दिई घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । धामीले इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दामा प्रहरीसँगको मिलेमतोमा घुस मागेको अवस्थामा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट गएको टोलीले धामीलाई पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार धामीले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट बिहीबार हिरासतमा लिएको हो ।