अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग खोम अधिकारी (ढाकाटोपी लगाएका) र प्रकाश वाग्ले(बायाँ)
विष्णुप्रसाद होमागाई
काठमाडौं । ‘नेपोबेबी’ भन्दै शासन ब्यवस्थामा आमूल परिवर्तन गर्नका लागि आएको भनिएको नयाँ दल रास्वपाको सरकारमा झनै ‘नेपोबेबी’ हरू हावी भइरहेका छन् ।
ससुराहरु आफू पदमा पुगेपछि ज्वाइँहरुलाई उचित स्थान दिने प्रचलन नेपालमा मात्रै नभएर विश्वको महाशक्ति अमेरिकामा पनि कायमै छ । डोनाल्ड ट्रम्पका चर्चित छोरीज्वाइँ (इभान्का ट्रम्पका पति) जारेड कुश्नर को ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२१) मा ह्वाइट हाउसमा वरिष्ठ सल्लाहकारको रूपमा काम गरेका थिए ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका समयमा ज्वाइँ (सुजाताका पति) जर्मनी नागरिक जोष्टले रजगज गरे । उनले ठेक्का मिलाइदिने काम गरे । जोष्टले तत्कालीन शाही नेपाल बायुसेवा निगमका लागि युरोपका जीएसए दिलाउन आफ्ना साथी भारतीय नागरिक दिनेश धमिजालाई तिब्र दवाव दिए । जुन धमिजा काण्डका रुपमा चर्चित भएको थियो ।
नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहिनीज्वाइँ गोरखाका खोम अधिकारीलाई स्वकीय सचिव बनाएर सरुवा, बढुवा, नियुक्ति र थमौतिका लागि डिफ्याक्टो अर्थमन्त्री नै बनाएका छन् । त्यसो त चालकका रुपमा काम गर्दै आएका अर्का नातेदार दिनेश खनालले क्याफेमा सरुवा मिलाएर मालदार कार्यालयमा पठाउनेमा नम्बर एक भएका तनहुँका कांग्रेसहरुले चर्चा गर्न थालेका छन् ।
सरुवाका लागि दिनेशको चरणमा पुग्नुपर्ने कर्मचारीको बाध्यता छ । अर्थमन्त्रीको नामको मोबाइल उठाउने गरेका ज्वाइँ खोम अधिकारीले चाहिँ आफूलाई निजी सचिव भनेर परिचय दिने गरेका छन् । अर्का हर्ताकर्ता प्रकाश वाग्ले पनि अर्थमन्त्री स्वर्णिमका काकाका छोरा हुन् । उनले पनि सहोदर भाइ भनेर चिनाउने गरेका छन् । वाग्लेले आइजीपी दानबहादुर कार्कीलाई निर्देशन दिने गर्दछन् । उनले प्रहरीका एसपी र एसएसपीहरु सरुवा गर्ने र मालदार अड्डामा पठाउने गरेको तनहुँ र गोरखाका कांग्रेस नेताहरु बताउँछन् । अर्थमन्त्रीका कान्छा भाइ संयम वाग्ले अष्ट्रेलियामा बस्छन् भने माहिला भाइचाहिँ चितवनको टाँडीमा होटल व्यवसाय गरि बस्दै आएका छन् ।
यसअघिका नेताका भाइ–छोराहरु विदेशमा बसेर राजनीतिक नियुक्तिमा लेनदेनका कारोबार उतैबाट चलाउने गरेका थिए । भियतनामी श्रीमती विवाह गरिबसेका अर्थमन्त्री स्वर्णिमले नेपाली कांग्रेसमा रहेर छोटो समयमा धेरै महत्वपूर्ण अवसर पाए । अहिले काकाका छोरा प्रकाश वाग्लेले तनहुँमा बसेर स्थानीय तहको निर्वाचनका लागि पदको बाँडफाँड गरिसकेका छन् ।
त्यो कुरा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थाहा छैन । उनले भानु नगरपालिकाका रास्वपाका सभापति विष्णु पोखरेललाई नगरप्रमुख पदको उम्मेदवार भनेर ललीपप दिएको अर्थमन्त्रीका सचिवालयमा काम गरेका एकजना व्यक्तिले यो प्रतिनिधिसँग खुलासा गरे । अर्थमन्त्री वाग्ले २०७४ साल साउन १९ गते नेपाली कांग्रेसको सरकारका कार्यकालमा योजना आयोगका उपाध्यक्ष बनेका थिए । त्यसअघि काग्रेसको सरकारमा रहेका प्रा.डा. गोविन्दराज पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी सदस्य बनेका थिए ।
पहिला राष्ट्रपति पौडेलका हर्ताकर्ता, अहिले रास्वपाका कर्ताधर्ता
तनहुँ कांग्रेसका सचिव भई राष्ट्रपति रामचन्द्र पौडेलका हर्ताकर्ता भएर करोडौं रुपैयाँको सम्पत्ति जोड्न सफल विश्व बास्तोला अहिले रास्वपा तनहुँका संयोजक छन् । उनले राष्ट्रपति पौडेलले संघीय संसद सदस्यका लागि निर्वाचनमा उम्मेदवार हुँदा आर्थिक संयोजक भएर अकूत सम्पत्ति जोडेको आरोप छ । बास्तोलाले दमौलीबाट घुमाउने पुल जाने बाटोको अध्यक्ष भएर ठेकेदारसँग करोडौं रुपैया कमिसन लिएको स्थानीय कांग्रेसका नेताहरु बताउँछन् ।
कमिसनकै मोहमा उनी बुद्धसिंहमार्ग बाटो निर्माणमा ९ वर्ष अध्यक्ष बनेका थिए । यसरी पौडेलका नाममा करोडौं आर्थिक लाभ लिएका बास्तोला र टीका लगाएर सधैं राजनीतिक नियुक्तिको अवसर प्राप्त गरेका डा. वाग्लेले अहिले राष्ट्रपति पौडेलको आलोचना गरेको सुन्दा तनहुँका रामचन्द्र पोखरेललगायतका कांग्रेसहरुले लाजले कानमा कपास राखेको अवस्था छ । बास्तोला ब्यास नगरपालिकाको प्रमुख पदमा टिकट नपाएपछि रास्वपामा लागेका थिए ।
अर्थमन्त्री वाग्लेले रास्वपामा गएर नयाँ जोगी बन्दै खरानी घसेको रमिता पूर्व गृहमन्त्री गोविन्दराज जोशी र उनका छोरा दीपकराज जोशीले नजिकबाट हेरेका छन् । रामचन्द्र पौडेल राष्ट्रपति बन्नका लागि राजीनामा दिएर खाली भएको उपचुनावमा चाहिँ उनीहरुकै सहयोग र समर्थनका कारण वाग्लेले जित हासिल गरेका थिए ।
छोराका नाममा बाबु जीवनराजको अनेक धन्दा
चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा बस्दै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका बाबु जीवनराज वाग्लेले आफ्नो जग्गा बिक्री गर्ने भनी एक जना व्यवसायीसँग करार कागज गरी ५० लाख बैना लिए । उनले बैना रकम लिएपछि कान्छो छोरा सम्यमलाई अष्ट्रेलियामा भेटेर आएपछि राजीनामा पास गरिदिन्छु भन्दै टार्दै आए । सहकारी संस्थाबाट ऋण लिएर घडेरी किन्न भन्दै ५० लाख बुझाएका व्यवसायीलाई छोराको शक्ति देखाएर जीवनराजले ३८ महिनासम्म झुलाएर हायलकायल गराए । उनले घडेरी विक्री नगर्ने नियतले अनेकौं समस्या अघि सारे ।
चन्द्रागिरी नगरपालिका–८ वडाका अध्यक्षसँग उजुरी गरेपछि पीडित व्यवसायीले बल्लतल्ल साँवा मात्रै फिर्ता गराउन सफल भए । यसबारेमा प्रतिक्रियाका लागि जीवनराजसँग सम्पर्क गर्दा कान्छी श्रीमती दिलु वाग्लेले बिनाब्याज रकम फिर्ता गरिसकेको बताइन् । जग्गा किन्नका लागि भन्दै सहकारीबाट ऋण लिएर ५० लाख बैना दिएका व्यवसायीको ब्याजमात्रै झण्डै ३० लाख पुगेको अवस्था छ । यस विषयमा अर्थमन्त्री वाग्लेको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनका ज्वाइँ खोम अधिकारीले निजी सचिव हुँ, सबै कुरा मलाई थाहा छ, गल्ती व्यवसायीकै हो भन्दै धम्कीपूर्ण भाषामा प्रतिक्रिया दिए ।
कहीँ नभएको जात्रा, अर्थमन्त्रीबाट नीति तथा कार्यक्रममा जवाफ
रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले अहिलेसम्म निरन्तर गरेको पाँच मिनेटको सम्बोधन कतै सुनिँदैन । प्रधानमन्त्री बालेनको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेले विदेश जाँदा वा बिरामी हुँदा मात्रै गर्नुपर्ने सम्बोधन गरी जात्रा नै देखाएका छन् । बिपक्षी दलहरुले वाग्लेको सम्बोधनलाई लिएर तीव्र विरोध गरे । तर प्रतिपक्ष दलहरुको विरोधका बाबजुद गैर लोकतान्त्रिक ढंगले सदन चलाइएको थियो । २०८३ जेठ ४ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend