Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिको बंगलादेश भ्रमण आजदेखि


    सोमबार, चैत्र ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  राष्ट्रपति विद्यादेशी भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा जाँदै छिन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्।

    राष्ट्रपति भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र उनका बंगलादेशी समकक्षी हमिदबीच भेटवार्तालगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद रेल रुट सञ्चालन, पशुपक्षीसँग सम्बन्धित स्यानिटरी र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान फाइटो स्यानिटरी अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्सलगायत समझदारीपत्रमा हस्ताक्षर हुनेछ। यस्तै, पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरको कार्यक्रम छ। बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ। 

    त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। मन्त्री गुरुङले यो भ्रमणमा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने बताए। रेल, यातायात र बन्दरगाहलाई नेपालसँग जोड्ने विषयमा पनि छलफल हुने मन्त्री गुरुङले बताए। ‘बंगलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ’, उनले भने। (आजको अन्नपुर्ण दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार