काठमाडौं । सत्तारूढ दल एमालेले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरी अराजकता मच्चाएको र अनुशासनहीन काम गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई अनुशासित राख्न अराजकता अन्त्य हुनुपर्ने बताएका थिए । उनले समानान्तर गतिविधि सञ्चालन गर्नेमाथि कारबाही गरी पार्टीलाई अनुशासित राख्नुपर्ने बताएका थिए ।
अध्यक्ष ओलीले समानान्तर गतिविधिले पार्टी कमजोर हुने भन्दै त्यस्तो गतिविधि गर्नेलाई कारबाही गरी पार्टीलाई सशक्त राख्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीको सो सम्बोधनलगत्तै केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाललगायत चार जनालाई कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर बैठक राखेर पार्टीलाई कमजोर बनाउने तथा अनुशासनहीन काम गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।
स्पष्टीकरण सोधिएका नेताले दिने जवाफका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले भने, ‘अहिले स्पष्टीकरण मात्रै सोधेका छौं, त्यसमा कस्तो जवाफ दिनुहुन्छ, जवाफका आधारमा आवश्यक कदम चाल्नेछौं ।’
प्रवक्ता ज्ञावलीले ‘अब पार्टीमा कुनै पनि खालका गुटगत गतिविधि स्वीकार गर्न नसकिने’ प्रस्ट पारे । ‘त्यसो हुँदा विधान आकर्षित हुन्छ, हिजो गुटको संयुक्त मोर्चाजस्तो भयो,’ उनले भने, ‘अध्यक्ष केपी ओलीको भाषामा अब गुटबन्दीलाई नो इन्ट्री ।’
पार्टी अध्यक्ष र महासचिवको निर्देशनविपरीत एमालेको ब्यानरमा कार्यकर्ता भेला गर्ने कुरालाई गम्भीरतापूर्वक लिएर स्पष्टीकरण सोधिएको उनले बताए ।
‘फागुन २३ गतेसम्मका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, फागुन २३ पछिको अवस्थामा पनि उस्तै गतिविधि स्वीकार्य हुँदैन,’ प्रवक्ता ज्ञावलीले भने, ‘कुनै गुटगत भेला नगर्न स्पष्ट निर्देशन हुँदाहुँदै कार्यकर्ता भेला गरियो, यो असाधै गम्भीर विषय भएकोले स्पष्टीकरण माग गर्ने निर्णय भएको हो ।’
नाम हेरफेर जिम्मेवारी ओलीलाई
केन्द्रीय कमिटी बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदको बन्दसूचीमा रहेकाको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको बताइएको छ ।
यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।
अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि सो बैठकले गरेको छ ।
एमालेमा महाधिवेशन आयोजक कमिटी
एमालेको केन्द्रीय कमिटीलाई १०औं महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका ओली अध्यक्ष र उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल महासचिव रहने निर्णय गर्दै केन्द्रीय कमिटीलाई आयोजकको रूपमा रूपान्तरण गर्ने निर्णय भएको बताए ।
‘बैठकले केन्द्रीय कमिटीलाई पार्टीको १०औं महाधिवेशनका लागि आयोजक कमिटीको रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहने निर्णय भएको छ ।’ एमालेले ३ देखि ६ मंसिर २०७८ मा १०औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
बैठकले हाल रहेको २ सय ६४ सदस्यीय केन्द्रीय सदस्य तथा पदाधिकारीको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा नेता टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेका छन् । सो कार्यदललाई कार्यविभाजनका साथै संगठनलाई व्यवस्थित गर्ने प्रस्ताव तयार गर्न जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जिल्ला कमिटी अधिवेशन सम्पन्न गर्न सातै प्रदेश कमिटीलाई जिम्मेवारी दिने निर्णय गर्दै पार्टी सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयसीमा तोकिएको छ ।
एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह तथा नेता वामदेव गौतमले भने केन्द्रीय कमिटी बैठक बहिष्कार गरेका छन् ।
गत २८ फागुनमा केन्द्रीय कमिटीले गरेका निर्णय खारेज गरेमात्रै केन्द्रीय कमिटी बैठकमा सहभागी हुने नेपाल समूहको अडान छ । तर, शनिबार नै बालुवाटारमा बसेको संसदीय दलको बैठकमा गौतम सहभागी भएका थिए ।
बैठकले एमाले समानुपातिक सांसद राख्न र हटाउन सक्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णयसमेत गरेको छ । संसदीय दलको बसेको बैठकले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
यसैगरी, एमालेको बल्खुमा रहेको पार्टी कार्यालय निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । आगामी ९ वैशाखमा बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय भएको छ ।
पार्टीमा लागेको खिया हटाउन लागेका छौं : नेपाल
एमाले वरिष्ठ नेता नेपालले एमालेमा तीन वर्षदेखि लागेको खिया हटाउने अभियानमा लागेको बताएका छन् ।
नेपाल समूहको शनिबार काठमाडौंमा आयोजित युवा संघ राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
‘तीन वर्षदेखि लागेको खिया हामी बिस्तारै हटाउँदै छौं,’ नेपालले भने, ‘सर्वोच्चले गरेको फैसला गलत थियो तर सर्वोच्चको फैसला मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन ।’ (आजको राजधानी दैनिकबाट)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend