काठमाडौं, १८ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित गर्नको लागि ऎन बनाउने भएको छ । ऎन बनाउनको लागि मन्त्रालयले आवश्यक कदम चालेको छ ।
मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको छ । ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् ।ऐन निर्माण भए पेट्रोलियम कारोबारको बिक्री वितरण तथा नियमनको सम्पूर्ण अधिकार हुने पेट्रोलियम प्राधिकरण गठनको बाटो खुल्ने मन्त्रालयको विश्वास छ । पेट्रोलियम पदार्थ नियमन र व्यवस्थित गर्ने ऐन र शक्तिशाली प्राधिकरण नहुँदा पेट्रोलियम पदार्थ खरिद बिक्रि तथा वितरण लगायतका निर्णय विवादित हुँदै आएका छन् ।
ऐन बने नेपाल आयल निगमले गर्दै आएको इन्धनको सम्पूर्ण कारोबार नियमन गर्ने संस्था खडा हुनेछ भने निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने बाटो खुल्नेछ ।