Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने : सञ्चारमन्त्री


    शनिबार, फाल्गुन २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताउनुभयो ।

    उहाँले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिनुभयो । “गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन”, उहाँले भन्नुभयो, “मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो ।” उहाँले ताजा जनादेशले पार्टीको सङ्गठनलाई पनि मजबुद बनाउने धारणा राख्नुभयो ।

    मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताउनुभयो । “सरकार, पार्टी नेतृत्व र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो”, उहाँले भन्नुभयो, “बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।”

    उहाँले पार्टीमा कसैलाई पनि कारवाही नगरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेको समेत बताउनुभयो । प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताउनुभयो ।

    चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दिगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार