काठमाडौं, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला सचिवालय बैठक बस्दैछ । एमाले–माओवादी एकतापछि नेकपाभित्र नेताहरुबीच यति धेरै तिक्तता सतहमा आएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष र प्रधानमन्त्री ओली पक्षले सांसदहरु तानातान सुरु गरेको छ । २०५२ पछिको हङ पार्लियामेन्ट हुँदाको जस्तो सांसदहरु तानातानको खेल दुई तिहाईको नजिक बहुमत ल्याएको नेकपाभित्र देखिएको छ । आजको सचिवालय बैठकमा दुई ओली र उनका विरोधी नेताहरुबीच वारपार हुने सम्भावना छ ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा पार्टीका बहमुत सांसद रहेको देखाउन हस्ताक्षर अभियान चलाएका छन् । प्रचण्ड र माधव कुमार नेपाल पक्षले पनि त्यसविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका छन् । प्रचण्ड–नेपाल पक्षले सबै सांसदलाई काठमाडौं आउन निर्देशन दिएको स्रोत बताउँछ ।
यसअनुसार नेकपाभित्र आजै वारपार हुने सम्भावना देखिएको छ । सचिवालय बैठकमा जसले बहुमत देखायो, उसैको जित हुने सम्भावना छ । जसअनुसार आ–आफ्नो पक्षमा सांसद तान्न अभियान चलेको छ । नेता वामदेव गौतमलाई समेत आफ्नो पक्षमा पार्न दुवै पक्ष लागेका छन् ।
नेकपामा एक सय ७४ जना सांसद छन् । बहुमतका लागि ८८ जना चाहिन्छ । ओली पक्षमा ९२ सांसद रहेको दाबी गरेको छ । प्रचण्ड–माधव नेपाल पक्षले १ सय भन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
प्रचण्ड ओलीलाई नै हटाउने पक्षमा छन् भने माधव नेपालले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न ओलीसँग माग गरेका छन् । सो मागलाई ओलीले अस्वीकार गरेका छन् ।