काठमाडौं, १७ बैशाख । सत्तारुढ दलभित्र सरकारको नेतृत्व परिवर्तनको कसरत भइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।
कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो । कांग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीन पटक बसिसकेको छ ।
नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध प्रायः सबै शीर्षनेता एक ठाउँमा उभिएर उनलाई राजीनामा दिन दबाब बढाइरहेका छन् । नेकपाभित्रको विवाद यति बढेको छ कि पार्टी नै फुट्ने हो कि भन्ने चिन्ता कार्यकर्ता तहमा हुन थालेको छ । नेकपाभित्रको विवादले उग्ररुप लिइरहेको बेला कांग्रेसको बैठक हुन लागेको हो ।