Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठमेलमा प्रहरीका घुमुवाको आतंक, पटक–पटक विवादमा परेका श्रेष्ठलाई हाकिमकै संरक्षण


    सोमबार, माघ १२ २०८२
    5.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले सूचना संकलनका लागि सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने गरेको बताउँदैआएको छ । तर ती सादा पोशाकमा परिचालित हुने घुमुवा प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न भएका उदाहरण एक होइन अनेक पाउन सकिन्छ ।

    सादा पोशाकका घुमुवा परिचालन गरी प्रहरीका बृत्तदेखि जिल्ला र प्रदेशका इन्चार्जहरुले असुलीमा परिचालन गर्दैआएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गर्दा र मिडियाले सप्रमाण समाचार प्रकाशित गर्दा पनि घुमुवा खटाउने क्रम रोकिन सकेको छैन ।

    यसैक्रममा काठमाडौंको सबैभन्दा आकर्षक बृत्तका रुपमा लिइने लैनचौरमा १३ बर्षदेखि सादा पोशाकका घुमुवा खटाएर बृत्तका इन्चार्जले त्यस क्षेत्रका डिस्को, क्लव र होटलदेखि बिभिन्न ठाउँबाट दररेट अनुसार नै घुस असुल्ने गरेको आरोप छ । लैनचौर बृत्तका हरेक इन्चार्जलाई दररेट संकलन गर्दै बुझाएर विगत १३ बर्षदेखि सादा पोशाकमा खटिएका घुमुवा हुन्, हवल्दार करुण श्रेष्ठ ।

    श्रेष्ठ पटक–पटक त्यहाँ घुमुवा हुँदा आर्थिक लेनदेनमा मुछिई कारबाही गरी हटाइएका भए पनि फेरि त्यहीँ सोर्सफोर्स लगाएरै पुग्ने गरेका छन् । करुणको ब्रेक सू मार्फत् सुन तस्करी गर्ने बेल्जियन नागरिक दावा छिरिङ र जीवन चलाउनेसँग बाक्लो उठबस थियो । दाबा र चलाउने दुबै सोह्रखुट्टे क्षेत्रमा कारोबार गर्ने भएकाले उनीहरुको सम्बन्ध निकट रहेको थियो ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा नयाँ एआईजी आउनासाथ विवादित घुमुवा करुणको सरुवा गर्दछन् । तर उनी दुई महिनामै पुनः लैनचौर बृत्तमै सरुवा भएर आउने गरेका छन् । दर्जाले हवल्दार उनको पहुँच माथिल्लै निकायसम्म हुने गरेको सरुवा हुनासाथ पुनः लैनचौर बृत्तमै फर्किन सक्ने खुबीले पनि पुष्टि गर्दछ । घुमुवा करुणलाई  लैनचौर बृत्तका डीएसपी जागेश्वर भण्डारीले संरक्षण गरेका छन् ।

    लैनचौर बृत्त अन्तर्गतका क्लवहरुबाट उनले मासिक रुपमा इन्चार्ज भण्डारी र आफूलाई दररेट तोकेरै लिने गरेको स्रोत बताउँछ । उनले क्लव, होटल र डान्सबारबाट इन्चार्जको नाममा दररेट तय गरी असुली गर्ने गरेका छन् ।  ठमेल क्षेत्रको एलओडी क्लबजस्ता ठूला र ग्राहकको घुईचो लाग्ने क्लवमा मासिक ३ लाखसम्म इन्चार्जका लागि र आफ्ना लागि २० हजार घुमुवा करुणले असुली गर्दैआएको आरोप छ ।

    त्यस्तै सिनेट क्लब र फायर क्लवहरुसँग अर्को दररेट कायम गरी असुली हुने गरेको छ । यस्ता क्लवसँग एक लाखका दरले इन्चार्जको नाममा  १ लाख रुपैयाँ र घुमुवाको १० हजार दररेट तय गर्दै असुलिने गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार  Tenx क्लव, फुलमुन क्लव, सुगर क्लव, ओमनिया क्लब, गजासुरा बार मिनी डिस्को, कर्मा क्लब जस्ता मझौला खालका क्लवसग छुट्टै दररेट कायम गरिएको छ ।

    यी मझौलाको दररेट घुमुवाले ५० हजार इन्चार्ज र १० हजार घुमुवाको लागि तय गरी असुल्ने भएकाले करुण परिसरका इन्चार्जमार्फत् दबाब दिएर सादा पोशाकमा खटिन सफल हुँदैआएका छन् । स्रोतका अनुसार लाइन्स बारजस्ता कम ग्राहक आउने क्लवको २० हजार हाकिम र ५ हजार घुमुवाको दररेट तय गरिएको छ ।

    भोल्कानो डान्सबार, स्काई डान्सबारलगायतमा घुमुवाको भागमा मात्र मासिक दररेट कायम गरिएको छ भने सारङ इन होटललाई घुमुवाका लागि बस्ने खाने जक्सन बनाइएको छ ।

    ठमेल क्षेत्रका होटलमा ट्याक्सीमा युवती सप्लाई गर्ने दलालहरुको समूहसँग समेत घुमुवाले महिनावारी उठाउने गरेको स्रोत बताउँछ ।  एउटा ट्याक्सीसँग महिनावारी उनीहरुले ३० हजारसम्म असुल्दैआएका छन् ।

    ठमेल क्षेत्रकै एक ब्यवसायीका अनुसार घुमुवाले विभिन्न डान्सबारमा नगद र मदिरा घुसबापत लिने गरेका छन् । १३ बर्षदेखि घुमुवाका रुपमा हाकिमका लागि अतिरिक्त कमाइ गर्न राखिएका करुण श्रेष्ठलाई लैनचौर क्षेत्रका प्रत्येक क्लव, होटल, डान्सबार सबैको जानकारी रहेको र असुलीमा पोख्त भएकाले हरेक डीएसपीले उनलाई परिचालन गरी लाभ लिइरहेका छन् । हालका लैनचौर बृत्तका इन्चार्ज डीएसपी जागेश्वर भण्डारीले समेत उनीबाट यथेष्ट लाभ लिई संरक्षण गर्दैआएका छन् ।

    दर्जाले हवल्दार भए पनि श्रेष्ठले ब्यवसायीलाई आईजीपीसम्म पहुँच भएको तुजुक देखाउने गरेका छन् । हुन पनि पटक–पटक विवादमा परी सरुवा भए पनि उनी २ महिनामै लैनचौरमा फर्किने गरेकाले उनको पहुँच माथिसम्मै रहेको कुरा पुष्टि हुने गरेको छ ।

    दरबन्दी महाराजगंजको सशस्त्र प्रहरी गण नम्बर २ मा रहे पनि विगत १३ बर्षदेखि लैनचौर बृत्तका घुमुवा रहेका श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलका ब्यवसायीहरुलाई दुःख दिंदै हप्तावारी रकम असुल्ने गर्दैआएको उदाहरण गएको मंसिरमा ओएसिस क्लवमा घटेको घटना हो ।

    जेनजी आन्दोलनमा उद्योगी ब्यापारीहरुका घरदेखि उद्योग र ब्यापारीक कम्प्लेक्सहरुमा आगजनी गरी अरबौं रुपैयाँ क्षति बेलासमेत घुमुवा श्रेष्ठले गएको मंसिर १ गते ठमेलको नरसिंहचोकमा रहेको ओएसिस क्लवका कर्मचारी आयुष रावलमाथि राति कुटपिट गरेका थिए । क्लवको गेटमा उभिएर पर्यटकलाई बोलाइरहेका रावललाई हवल्दार श्रेष्ठले कुटपिट गरेको सीसीटीभी फुटेज नै सार्वजनिक भएको थियो । कुटपिटका क्रममा रावलको नाक र मुखमा चोट लागेको थियो ।

    जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले धेरै गुनासो आएपछि घुमुवा करुण श्रेष्ठलाई नयाँ बानेश्वर बृत्तमा सरुवा गरिदिएका थिए । विश्व अधिकारीभन्दा अगाडिका परिसरका एसएसपी बसन्त रजौरेले घुमुवा करुणलाई स्वयम्भू बृत्तमा बर्दी लगाएर ड्युटी गर्नेगरी सरुवा गरिदिएका थिए ।

    रजौरेभन्दा अगाडिका एसएसपी भूपेन्द्र खत्रीले समेत श्रेष्ठलाई सरुवा गरेका थिए । तर सरुवा गरिएका घुमुवा श्रेष्ठ फर्कीफर्की सोह्रखुट्टे बृत्तमै काजसरुवा भएर आउने गरेका छन् । घुमुवा प्रहरी श्रेष्ठको विवादित भिडियो आएपछि पनि उनलाई जिम्मेवारीबाट नहटाई यथावत राखिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार