Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथ खनालको चेतावनी : नेतृत्वशैली अधिनायकवादी बन्यो, पार्टी फुट्न सक्छ


    सोमबार, माघ १२ २०८२
    560
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेल, पूवए मुख्यमन्त्री कुलप्रसाद केसी सोनामसहित ७ नेतालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति असन्तुष्टि जनाएका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वशैली अधिनायकवादी बन्दै गएको आरोप लगाएका हुन् ।

    खनालले गजुरेलजस्ता अनुभवी नेतामाथि स्पष्टीकरणको अवसरसमेत नदिई कारबाही गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् ।
    पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी गठन हुन नसकेको, संस्थागत निर्णय प्रक्रिया विकास नभएको र एकाध व्यक्तिको चाहनामा ठूला निर्णय हुन थालेको उनको आरोप छ ।

    पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यममार्फत कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धतिविपरीत भएको पनि उनले जनाएका छन् ।

    नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् ।

    किन यस्तो कदम चाल्नुपर्‍यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्नेमा उनले जोड दिए। पार्टीमा अधिनायकवादी शैली हाबी हुँदै गएको भन्दै उनले सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी ‘दुर्घटनातर्फ’ जाने चेतावनीसमेत दिएका छन् ।

    आगामी २०८२ सालको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिस्टहरूबीच नीतिनिष्ठ एकता आवश्यक रहेको उल्लेख गर्दै खनालले नेतृत्वको कार्यशैलीकै कारण समस्या उत्पन्न भइरहेको निष्कर्ष निकालेका छन् ।

    उनले नेतृत्व नसच्चिए पार्टी एकीकरण भइनसक्दै विशृंखलातर्फ जाने र फुट्ने खतरा रहेको स्पष्ट पारे। मुलुकविरुद्ध भित्री र बाहिरी षड्यन्त्र भइरहेको बेला पार्टीलाई संस्थागत बनाउनुको साटो व्यक्तिवादी निर्णय हाबी भएको भन्दै खनालले गहिरो चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

    खनालको यो धारणा सार्वजनिक भएसँगै नेकपाभित्रको आन्तरिक तनाव पुनः सतहमा आएको छ, जसले पार्टी नेतृत्वको निर्णय प्रक्रिया र एकताको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार