Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाह्रबीसेका पूर्वमेयर शेर्पाले एमाले छाडे, निर्वाचनमा एमालेलाई धक्का


    बिहिबार, माघ ८ २०८२
    870
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनको सम्मुखमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका पूर्वमेयर निमफुन्जो शेर्पाले एमाले परित्याग गरेका छन् । गुट उपगुृटमा बिभाजित सिन्धुपाल्चोक एमालेमा शेर्पाले छाडेपछि बाह्रबीसे क्षेत्रमा निकै क्षति पुग्ने बताइएको छ ।

    जीवनका सबैभन्दा उर्जाशील वर्षहरू आफूले एमालेलाई दिएको उल्लेख गर्दै शेर्पाले सिन्धुपाल्चोकमा पार्टी चलाउने केही व्यक्तिहरूले आफूलाई जीवनभर बिर्सन नसकिने चोट दिएको उल्लेख गरेका छन् । उनीहरूले मेरो मनलाई यति गहिरो गरी भत्काए, जसको पीडा शब्दमा बयान गर्न गाह्रो भएको भावुक स्टाटस बिहीबार साँझ शेर्पाले सामाजिक संजालमा लेखेका छन् । शेर्पालाई होमनारायण श्रेष्ठ र सरेश नेपालसहितका नेताहरुले पार्टीबाट निलम्बन गरेपछि उनी रुष्ट थिए ।

    शेर्पाले २०४६ सालकोे परिवर्तनमा जेल परेको प्रसंग उल्लेख गर्दै २०५३ मा प्राप्त गरेको नेकपा एमालेको सदस्यतासमेत राखेर सामाजिक संजालमा लेखेका छन्–‘ गाती,मान्द्राको एउटा विकट गाउँमा जन्मिँदा म कुनै पार्टीको झण्डा, नारा वा राजनीति बुझ्ने अवस्थामा थिएनँ । तर जब चेतना आउन थाल्यो, जब समाज बुझ्न थालेँ, म आफूलाई नेकपा एमालेकै मान्छे पाएँ । थाहा पाउँदा म एमाले थिएँ, बाँच्दासम्म पनि एमाले नै रहन्छु होला जस्तो लागेको थियो ।

    आज उमेर झण्डै ६० को हाराहारीमा पुगेको छ । जीवनका सबैभन्दा उर्जाशील वर्षहरू मैले यस पार्टीलाई दिएँ । मैले पार्टीलाई धेरै दिएँ, पार्टीले पनि मलाई धेरै दियो । यो पार्टीप्रति मेरो मनमा न कुनै गुनासो छ, न आग्रह, न पूर्वाग्रह । तर दुःखको कुरा के हो भने, पार्टी चलाउने केही व्यक्तिहरूले मलाई जीवनभर बिर्सन नसकिने चोट दिएका छन् । उनीहरूले मेरो मनलाई यति गहिरो गरी भत्काए, जसको पीडा शब्दमा बयान गर्न गाह्रो छ ।

    आज यो क्षणमा म मेरो स्वर्गीय दाइ ङिमपासाङ शेर्पालाई सम्झिरहेको छु । उहाँले मलाई बुबाआमाको माया मात्र होइन, राजनीतिक रूपमा एउटा पहिचान दिनुभयो। आज म जे छु, जहाँ छु, त्यो उहाँकै विश्वास र मार्गदर्शनको देन हो ।

    २०४६ सालको राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा, २०४६ चैत २४ गते प्रहरीबाट पक्राउ परेर २४ घण्टा हिरासतमा बस्नुपरेको दिन आज पनि आँखाअगाडि ताजै छ । त्यही संघर्षबाट पिपुल्स भोलेन्टियर हुँदै मेरो नेकपा एमालेको राजनीतिक यात्रा सुरु भयो । त्यो यात्रा कहिल्यै सजिलो थिएन, तर म कहिल्यै पछि हटिनँ ।

    बाह्रविसे, भोटेकोशी जस्ता क्षेत्रमा कुनै दिन एमालेका कार्यकर्ता गन्न सकिने अवस्थामा थिए । तर हामीले त्यही ठाउँमा स्थानीय तहको पहिलो निर्वाचन जित्यौं । म संस्थापक मेयर बनेँ र तपाईँहरू सबैको साथ र विश्वासले बाह्रविसेलाई एमालेको गढ बनायौं । त्यो मेरो व्यक्तिगत सफलता होइन, यो पार्टी र कार्यकर्ताको सामूहिक जित थियो ।

    तर दुःखद सत्य के हो भने, पार्टीभित्रकै केही मान्छेहरूले बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले बलियो भएको देख्न सकेनन् । उनीहरूले हामीलाई कमजोर बनाउन दुई वटा कमिटी बनाएर विभाजन गर्ने काम गरे । म सधैँ पार्टीका साथीहरूको दुःख–सुखमा उभिएँ, कार्यकर्ताको मनोबल बढाउन अग्रपङ्क्तिमा रहेँ । तर यसको बदलामा मलाई पुरस्कारस्वरूप कारबाही दिइयो ।

    म मान्छे हुँ, मसँग पनि कमजोरी छन् ,तर ती कमजोरीका नाममा मेरो योगदान, मेरो संघर्ष र मेरो क्षमतालाई पूर्णरूपमा अस्वीकार गर्नु अन्याय हो भन्ने मेरो बुझाइ छ । जब पार्टीले ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश कारबाहीमार्फत् दियो, त्यसपछि यहाँ बसिरहनु मेरो आत्माले स्वीकार गरेन । म मान्छे हुँ कमजोरी हुन सक्छ,तर त्यसको सजाय यति निर्मम हुनुपर्छ र ?

    मेरो योगदान,मेरो क्षमताको कुनै मूल्य छैन भन्ने सन्देशले म भित्रभित्रै तड्पिरहेँ ।  आत्माले बोलेपछि त्यहीँ टाँसिएर बस्न सकिनँ । त्यसैले आज, नेकपा एमालेले दिएको संगठित सदस्यता नम्बर ५२६३४ यही मितिबाट त्याग गरेको छु ।

    यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ । मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन ।
    हिजो नेकपा एमालेमा रहँदा यदि मैले जानेर वा नजानेर कसैको मन दुखाएको छु भने, म सबैसँग हृदयदेखि माफी चाहन्छु । हामी फेरि कुनै न कुनै भूमिकामा भेटिनेछौं, मन साटासाट हुने नै छ ।

    आजकै मिति देखि म नेकपा एमाले पार्टीसहित संगठित सदस्यसमेत परित्याग गर्दैछु, पार्टी परित्याग गरे पनि मेरो जीवनमा बगेको संघर्ष, त्याग र सपनाको इतिहास कसैले मेटाउन सक्दैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार