Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • खेलकुद परिषदका बोर्ड सदस्य नियुक्तिमा मन्त्री गुप्ताको मनपरी , बदर गर्न प्रधानमन्त्री नै गुहारियो


    मंगलबार, पुष १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नियमबिपरीत राष्ट्रिय खेलकुद परिषदमा बोर्ड सदस्य नियुक्ति गरेका छन् ।

    मंसिर ९ गते बुधबार राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक राखेर सर्लाहीको लहान अस्पतालमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगै जग्गा हस्तान्तरण कार्यक्रममा गुप्ता पुगेका थिए ।

    २ दिन गृहजिल्लामै रहेका गुप्ता शुक्रबार सुटुक्क मन्त्रालय आएर सचिवालयले तयार गरेको सूचीलाई अनुमोदन गरेका थिए ।

    मन्त्रालयबाट संस्थागत रुपमा उठ्नुपर्ने टिप्पणी फाइलको प्रक्रियालाई बाइकट गरेर गुप्ताले सिधै परिषदमा ५ सदस्य नियुक्ति गरेका थिए । नेपाल खेलकुद बिकास ऐन–२०७७ को परिच्छेद २ को दफा ३ बमोजिम रिक्त रहेका ५ सदस्यमाजगत टमाटा, सन्तकुमार मेहता, रोजेश खड्का, कुमार लामा घिसिङ र प्रयास कार्की रहेका छन् ।

    विगतमा मन्त्रालयको सचिव हुँदै मन्त्रीले सदस्यहरुमा नियुक्ति र मनोनयन गर्ने प्रावधानलाई मिचेर गुप्ताले मन्त्रालयको संस्थागत नेतृत्वलाई थाहा नै नदिई एक्लौटी ढंगले आफैं निर्णय गरेपछि मन्त्रालयका अधिकारीहरु नै चकित परेका छन् । सोही दिन हतार हतारमा गुप्ताले सदस्यहरुलाई सपथ पनि खुवाएका छन् । मंसिर १२ गतेदेखि रिक्त रहेका सदस्यहरुको नियुक्ति तत्काल अगाडि बढाउनुपर्नेमा मन्त्री गुप्ताले लिलाम बढाबढ गर्न खोज्दा लम्बिएर १ महिनापछि नियुक्ति गरिएको थियो ।

    करिब १ दर्जन स्वकीय सचिवालयका कर्मचारीहरुलाई मन्त्री गुप्ताले नियुक्ति हुने सदस्यहरुको डिल गर्ने जिम्मा दिएका थिए । स्रोतका अनुसार जसले बढी बोलकबोल गर्यो, तिनैलाई नियुक्ति गरिएको छ । सपथ ग्रहणमा समेत मन्त्रीको सचिवालयका कर्मचारीबाहेकलाई जानकारी समेत नदिएर गुप्ताले एक्लौटी गरेका छन । सपथग्रहणमा परिषदका सदस्य सचिव रामचरित्र मेहता, मन्त्रालयका सचिव डा. हरि लम्सालको अनिवार्य उपस्थिति हुनुपर्नेमा उनीहरु समेत उपस्थिति गराइएन ।

    सर्वोच्च अदालतको (मुद्दा नम्बर ०७८––wo–००७१) निर्देशनात्मक आदेश र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको २०७८ असोज ७ को परिपत्रबिपरीत मन्त्री गुप्ताले सदस्यहरुको नियुक्ति गरेका छन् । सो नियुक्तिलाई बदर गर्न माग गर्दै प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका संरक्षक सुशीला कार्कीसमक्ष उजुरीसमेत परेको छ ।प्रधानमन्त्रीको निजी सचिवालयमा आइतबार दर्ता भएको उक्त उजुरीको दर्ता ३३२० रहेको छ ।

    प्रधानमन्त्री परिषदको संरक्षक रहने र संरक्षकले दिएको निर्देशन अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान रहेका कारण उक्त नियमबिपरीत भएको नियुक्ति खारेज गर्न उजुरीकर्ताले माग गरेका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता सहसचिव मनिता श्रेष्ठले खेलकुद परिषदको बोर्ड सदस्य नियुक्ति प्रक्रिया मिचेर गरिएकोबारेमा आफू बिदामा भएको बेला नियुक्ति गरिएकाले यस बिषयमा कार्यालय गएपछि मात्रै केही भन्ने सक्ने बताइन् ।

    खेलकुद मन्त्री गुप्ताका निजी सचिव उपसचिव मोहन निरौलाले सदस्य नियुक्तिका लागि संस्थागत टिप्पणी आवश्यक नपर्ने भएकाले सिधै नियुक्ति दिएको प्रतिक्रिया दिएका छन् । सचिवालयले तयार गरेको कागजमा मन्त्रीले तोक लगाएर सिधै नियुक्ति दिएको बिषयमा मन्त्रालयका सचिव र कर्मचारीहरुको जरुरत नपर्ने उनको भनाइ थियो ।

    त्यसैगरी सपथग्रहणमा सचिव डा. लम्साल ७ मिनेटअघि सँगै रहेको र उहाँकै सहमतिमा मन्त्रीले सपथ गराएको उनको दाबी थियो । सदस्य सचिव मेहताको अनुपस्थितिको बिषयमा उनले भने–उहाँ उपत्यकाबाहिर भएकाले सपथग्रहणमा उपस्थित हुन नसक्नुभएको हो । निरौलाले उपत्यका बाहिर गएको भने पनि सदस्य सचिव मेहता भने शुक्रबार दिनभर परिषदकै कार्यक्रममा सहभागी रहेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार