Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल स्काउटको परिषद बैठकमा भाँडभैलो, मन्त्रीद्वारा बिघटनको तयारी


    सोमबार, पुष २८ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषदको बैठकमा भाँडभैलो भएको छ । युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउट परिषदका अध्यक्षसमेत रहेका बब्लु गुप्ताको अध्यक्षतामा सोमबार अपराह्न बसेको बैठक निष्कर्षमा पुग्न नसकी समापन भएको छ ।

    मन्त्री गुप्ताले मन्त्रालयकै सभाहलमा परिषद बैठक आह्वान गरेका थिए । अधिकांश सदस्य सहभागी भएको उक्त बैठकमा परिषद अध्यक्षका हैसियतले मन्त्री गुप्ताले राखेको प्रस्तावका अतिरिक्त अन्य सदस्यले थरीथरीका प्रस्ताव राखेपछि बैठक निष्कर्षमा पुग्न नसकी स्थगित भएको हो ।

    यसअघिका स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि मन्त्री गुप्ताद्वारा प्रस्तावित सिफारिस समितिमा अन्य सहभागीले सहमति जनाएनन् । एमालेनिकट मानिएका परिषद सदस्यहरुले आफूनिकट ब्यक्तिको सिफारिस गरेका र मन्त्री गुप्ताले पार्टीसँग आवद्ध परिषद सदस्यहरुलाई १ साताभित्रै पद छाड्नुपर्ने प्रस्ताव बैठकमा राखेपछि विवाद बढेको हो ।

    बैठकमा सहभागी एक सदस्यका अनुसार नेपाल स्काउटको सदस्य कुनै पनि राजनीतिक दलको सदस्य हुन बन्देज छ । तर एमालेको केही दिनअघि सम्पन्न जिल्ला र प्रदेश तहको अधिवेशनमा भाग लिएकाहरु नै परिषदका सदस्य छन् । नागरिक सरकारका मन्त्री गुप्ताले नेपाल स्काउटलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन प्रस्ताव राख्दा त्यसको काउन्टरस्वरुप दलसँग आवद्ध सदस्यहरु नै सिफारिस समितिमा बस्न खोजेपछि बैठकमा माइन्यूट नै हुन सकेन ।

    नेपाल स्काउटको नियमावलीमा परिषदको माइन्यूट अध्यक्ष(मन्त्री) र निर्देशकले अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने प्रावधान छ । तर बैठकको लाइभ प्रशारणमा समावेश नगरिएका एजेन्डा मन्त्री हिंडेपछि केही सदस्यहरुले राखेका थिए । बैठक निष्कर्षमा पुग्न नसकेपछि र नेपाल स्काउटलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउने प्रयास सफल हुन नसक्ने देखेपछि विद्यमान परिषदलाई कायम राखेर मन्त्री गुप्ता सहमत नरहेको बताइएको छ ।

    बैठक छाडेर सोमबार साँझ नेपालगंज प्रस्थान गरेका मन्त्री गुप्ताले फर्किएपछि स्काउटको राष्ट्रिय परिषद बिघटन गरी तदर्थ समिति बनाउने तयारी गरेका छन् । एक बर्षभित्र निर्वाचन गर्नका लागि जेनजीको प्रतिनिधित्वसतिको चुस्त तदर्थ समिति गठन गर्ने सोचमा रहेका गुप्ताको योजनालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेलले साथ दिने भएका छन् ।

    नेपाल स्काउटको राष्ट्रिय परिषदमा ५६ जना निर्वाचित र पदेन गरी ६२ सदस्यीय हुने ब्यवस्था छ । २०८० मा भएको निर्वाचनबाट आएका सदस्यहरुमध्ये एक दर्जनभन्दा बढी पार्टीको प्रत्यक्षमा राजनीतिमा संलग्न रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार