Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निजी प्रयोगशालाबाट पनि कोरोना परीक्षण गर्ने बाटो खुल्यो


    मंगलबार, बैशाख १६ २०७७
    640
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, १६ बैशाख ।

    नेपालमा कोरोना परीक्षणको दायरा विस्तार हुँदैगएको छ । चीनको वुहानबाट फर्किएका एक पुरुषमा कोरोना संक्रमण भएको हो कि होइन भन्ने पत्ता लगाउन स्वाव परीक्षणका लागि हङकङ पठाइएको थियो । तर आज नेपालका ७ वटै प्रदेशमा पीसीआर परीक्षणका लागि केन्द्रीय प्रयोगशालाकै स्तरमा ल्याब तयार भएका छन् । ¥यापिड टेष्टका लागि ७७ वटै जिल्लामा किटहरु पठाएर धमाधम परीक्षण भइरहेको छ । अब सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने बाटो खोलेको छ । 

    नयाँपत्रिका दैनिकका अनुसार परीक्षणसम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड–१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी बाटो खोलेको हो । सरकारले बनाएको मापदण्डअनुसार प्रयोगशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमित लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

    यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । योसँगै नेपालमा विभिन्न १६ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश १ ले कोरोना परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

    नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत छन् । यसैरी वीरगञ्जमा तीन तथा भरतपुर र कैलालीमा एक–एकजना उपचाररत रहेका छन् ।

    अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताए । कोरोनालाई दोस्रो चरणमा नै सीमित राख्न लकडाउनको पूर्ण पालना र क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

    सोमबारसम्म ५३ हजार पाँच सय ३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार चार सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा दुई हजार एक सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

    सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार नौ सय ६१ वटा परीक्षण भएका छन् ।

    यसैगरी प्रदेश १ मा चार हजार पाँच सय ४५, प्रदेश २ मा पाँच हजार दुई सय आठ र बागमती प्रदेशमा सात हजार ६ सय २६ वटा परीक्षण भएका छन् ।

    यस्तै, गण्डकी प्रदेशमा चार हजार नौ सय २४, प्रदेश नम्बर ५ मा तीन हजार चार सय ७१ र कर्णाली प्रदेशमा पाँच हजार एक सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

    देशभरि क्वारेन्टाइनमा अहिले २० हजार एक सय ९५ जना रहेका छन् । उपत्यकामा आठ र बाहिर ९८ सहित एक सय ६ जना आइसोलेसनमा उपचाररत छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार