रेशम पराजुली
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने जस्तो संवेदनशील र अपजसी काम गर्ने प्रमुख दायित्व र जिम्मेबारी नेपाल प्रहरीको रहेको हुँदा यो दायित्व निर्वाह गर्न प्रहरी जहिले पनि सरकारको प्रतिनिधित्व गर्दै फ्रन्ट लाइन एजेन्सीको रुपमा दरिनु उसको कर्म र धर्म दुवै हो ।
मुलुकभर मानवीय तथा प्राकृतिक रुपमा घट्ने विभिन्न घटनादेखि स्थानीय र राष्ट्रियस्तरमा हुने सरकार बिरोधी विभिन्न तह र तप्काका प्रदर्शनलाई नियन्त्रण गर्नका लागि सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी नै रहने गर्दछ ।
सामान्य चोरदेखि सरकार परिवर्तन गर्न चाहने वर्गको पहिलो निशानी नेपाल प्रहरी नै पर्दछ । यसरी खटिएको प्रहरीको बर्दी वा पोशाकमा सरकारको मुहार झल्किन्छ । सरकार र समग्र व्यवस्थाको असन्तुष्टी त्यही फ्रन्टलाइनमा खटिएको प्रहरीको बर्दीमाथि पोखिने गर्दछ ।
दैनिक आइपर्ने घटना क्रमलाई छाडेर मुलुकमा भएका ठूला ठूला सरकारविरुद्धका प्रर्दशन वा आन्दोलनलाई विश्लेषण गर्ने हो भने प्रायः सबै आन्दोलन र प्रदर्शनमा नेपाल प्रहरी नै आन्दोलनकारी वा प्रर्दशनकारीको प्रमुख निशानामा परेको देखिन्छ ।
देशमा घटेका ठूला घटना र प्रदर्शनको विशलेषण
२०३५ साल चैत २४ गते पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई मृत्युदण्ड दिएको विरोधमा नेपालमा चर्किएको २०३६ सालको आन्दोलनदेखि, २०४६ सालमा भएको निरङ्कुश पञ्चायती व्यवस्था ढलाएर बहुदलीय व्यवस्था स्थापना गर्न आयोजना गरिएको जनआन्दोलन, २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध, २०५७ सालमा भएको ऋतिक रोशन काण्ड, २०६१ भदौ १६ मा इराकमा १२ जना नेपालीलाई बर्बरतापूर्ण गरिएको हत्यामा भएको ब्यापक तोडफोड र आगोजनी, २०६२–६३ मा राजा ज्ञानेन्द्रको निरङ्कुशताको विरुद्धमा गरिएको संयुक्त जनआन्दोलन र २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ले आयोजना गरेको सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र सरकारको भ्रष्टाचारविरुद्धको अभियानमा गरिएको प्रदर्शनसम्मका आन्दोलन वा प्रर्दशनहरुमा नेपाल प्रहरी नै प्रमुख निशानामा परेको देखिन्छ ।
यी विभिन्न प्रदर्शन र आन्दोलनहरुलाई व्यवस्थापन गर्ने क्रममा नेपाल प्रहरीले बल प्रयोग गर्ने क्रममा कहिले अत्याधिक बल प्रयोग गरेको र कहिले प्रहरीले बल प्रयोग नगरेको भन्ने आरोप प्रत्यारोप निरन्तर खेप्दै आइरहेको यथार्थ घामजस्तै छर्लङ्ग छ ।
नेपाल प्रहरीलाई भीड व्यवस्थापनको मुख्य जिम्मेवारी
नेपाल प्रहरीले भीडलाई व्यवस्थापन गर्नुपर्ने मुख्य कारण भीडबाट कुनै गैरकानूनी कार्य नहोस् र स्वयम् भीडलाई अर्को उद्देश्यले जम्मा भएको भीडले नै असुरक्षा पैदा नगरोस् भन्ने नै हो । भीड नियन्त्रणको क्रममा बल प्रयोग गर्ने कानूनी आधार भनेको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ हो । यसले भीडमा बल प्रयोग गर्दा सकभर प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष उपस्थिति, नभए पनि आफ्नो मातहतको अधिकारीलाई भीड जम्मा भएको स्थानमा पठाई नियन्त्रण गर्ने भन्ने व्यवस्था रहेको छ ।
प्रहरीले मात्रै सो भीड नियन्त्रण गर्न वा शान्ति कायम गर्न सक्दैन भन्ने प्रमुख जिल्ला अधिकारीलाई लागेमा नजिकको सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनसक्ने समेतको कानूनी व्यवस्थाले प्रमुख जिल्ला अधिकारीले स्वयम् भीडको नियन्त्रण मा अगुवाई गर्नुपर्दछ । तर व्यवहारमा प्रमुख जिल्ला अधिकारी वा उनको मातहतको अधिकृत भीडमा जानु त कहाँ हो कहाँ परिस्थितिबस कुनै कारणले भीडमा उपस्थित भएको भए पनि लौ है इन्सपेक्टर सा’ब, सई सा’ब म बसेँ भने भीड उत्तेजित हुन्छ, तपाईंले सम्झाइबुझाइ मिलाउनुहोस् भनेर सुरक्षित स्थानमा पुग्दछन् ।
बल प्रयोगको लागि सुरुमा मौखिक आदेश दिने, यता प्रहरीले गोली प्रहार गरेपछि कुनै क्षति भएर विवाद आएमा मैले आदेश नै दिएको होइन भनेर पन्छिने प्रवृत्ति पनि विगतमा पटक–पटक देखिएकै छ ।
भीड नियन्त्रणका लागि नेपाल प्रहरीमा उपलब्ध स्रोत–साधन
यसरी भीड नियन्त्रणको प्रमुख जिम्मेबारी पाएको नेपाल प्रहरीसँग भीड नियन्त्रण गर्नका लागि आवश्यक गियर(साधनहरु) के के छन् र के के हुनुपर्दथ्यो भन्नेतर्फ बिचार गरौं । भीड नियन्त्रण गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ को सिलसिलेवार बल प्रयोग गर्न निम्न सामान आवश्यक पर्छ :
१. उचित ड्रेस र गियर जस्तै हेलमेट, बडी प्रोटेक्टर
२. डुङ्गा मुडा छेक्नका लागि ढाल
३. आधुनिक छडी, उपकरण
४. पर्याप्त अश्रुग्यास
५. पर्याप्त वाटर क्यानन
७. कम हानिकारक हतियार
८.पर्याप्त रबर बुलेट
९.भीड नियन्त्रण तालिमप्राप्त पर्याप्त जनशक्ति
१०. भीड नियन्त्रण सम्बन्धी स्पष्ट आदेश आदि
भीड नियन्त्रणका लागि नेपाल प्रहरीले यी सामग्री १० प्रतिशत पनि पाएको हुँदैन, केवल मौखिक अनुरोध र दुई हातले नमस्कार गर्नेमात्र हो । बल प्रयोग गर्दा उही पुरानो माओवादी द्वन्द्वकालमा नेपाली सेनाबाट खरिद गरेका घातक एस.एल.आर. र गोलीहरुको प्रयोग गर्न बाध्य छ नेपाल प्रहरी । प्रहरीलाई यस किसिमका परम्परागत घातक हातहतियार दिने तर उनीहरुबाट काम र मानवअधिकार भने अन्तर्राष्ट्रियस्तरको खोजिन्छ । बल प्रयोग नगर्दा क्षति भएमा, बल प्रयोग नगरे क्षति गरेको भनेर कारबाही गर्ने र बल प्रयोग गर्दा क्षति भएमा त्यसको भागिदार स्वयम् प्रहरी कर्मचारी हुनुपर्ने प्रवृत्तिले नेपाल प्रहरीको मनोबल खस्किंदै आजको स्थितिमा पुगेको हो ।
भीड नियन्त्रण गर्दा बल धेरै वा थोरै प्रयोग भयो भन्ने मापन गर्ने यन्त्र संसारमा हालसम्म बनेको छैन । कम घातक हातहतियार र अन्य पर्याप्त गियर (उपकरण) नहुँदा बल प्रयोग चाहेको जस्तो अड्कल गरे अनुसारको हुँदैन । उत्तेजित नारा लगाउँदै तोडफोडमा उत्रेको भीडलाई बल प्रयोग गर्दा सही स्थानमा नपर्न सक्दछ । चाहे त्यो लाठीचार्ज होस् वा घुँडामुनी गोली प्रहार होस् सही स्थानमा स्केल मिलाएर लाग्दैन । माथि लाग्दा ज्यानको खतरा वा जोखिम रहने र भुईतिर गोली लाग्दा पनि रिकोचिङ भई सर्वसाधारण मानिसलाई लाग्नसक्ने सम्भावना रहन्छ ।
भीड नियन्त्रणको चरण र सो पछि देखा पर्ने अवस्था र व्यवहार
एकातर्फ सरकारबिरुद्धमा हुने कुनै पनि हिंसात्मक र बिध्वंसात्मक प्रदर्शन वा आन्दोलन विफल पार्न प्रहरी शक्तिको रुपमा प्रयोग हुने गरेको छ । आन्दोलन सफल भए व्यवस्था वा सरकार परिवर्तन हुने, नयाँ परिवर्तित सरकारले प्रहरीलाई पुरानो सरकार वा व्यवस्था टिकाउन हामीलाई चरम दमन गर्न प्रयोग भएको भनेर सौतेनी नजरले हेर्ने गरिन्छ ।
आन्दोलन बिफल भएर सरकार वा व्यवस्था पुरानै रहेमा प्रहरीले सामान्य ड्युटी पूरा गरेको ठान्ने प्रवृत्ति रहेको हुन्छ भने अर्कोतर्फ सरकार विरोधी आन्दोलनमा उत्रेका समूह वा ब्यक्तिहरुले आफू भावी नेतृत्वमा वा राम्रो स्थानमा पुग्नका लागि उत्तेजित भई प्रहरीमाथि जाइलाग्ने प्रहरीलाई ढुङ्गामुढा गर्ने, प्रहार गरेको अश्रुग्याँस टिपेर प्रहरीतिरै फाल्ने, प्रहरीका हातहतियार खोस्ने, बर्दी उतार्ने र मिडियामा हिरो हुनेजस्ता क्रियाकलापले प्रहरीलाई निशाना बनाउने प्रवृत्ति हावी भइरहेको हुन्छ ।
यस्तै क्रियाकलाप गर्नेलाई उनीहरुको त्याग र बलिदान सम्झेर नेताहरुले काखी च्याप्ने अवसर दिने हुँदा भीडलाई हरेक कार्यकर्ताले माथिल्लो तहमा पुग्ने साधनको रुपमा हेर्ने हुँदा प्रहरी सधँै भीडको निशानामा पर्ने गर्दछ ।
भीड नियन्त्रणपछिको प्रहरी र प्रदर्शनकारीको मनोविज्ञान
ठूला आन्दोलनहरुमा प्रदर्शनकारीहरुलाई क्षति भएको सम्झेर वा केही मथ्थर भएमा आफ्नो जित भएको ठानेर हामी राज्यभन्दा शक्तिशाली छौं भनेर उल्टै प्रहरीका हतियार खोस्ने, प्रहरी कार्यालय जलाउने, प्रहरीलाई नाङ्गेझार बनाउने र उनीहरुमाथि सिलसिलेबाररुपमा बल प्रयोग गरी भीड हटे पनि भीडमा अत्याधिक बल प्रयोग गरेकाले आफ्नो लक्षित उद्देश्य हुन नसकेको भनी उही प्रहरीको बर्दीमाथि निशाना बनाउने र मौका पर्नासाथ बिद्रोहको ज्वाला ओकाल्ने प्रवृत्ति रहेको छ ।
प्रहरी हाम्रा लागि हो, हामी सत्तामा गए पनि प्रहरी चाहिन्छ भन्ने सोच कमैले राखेको पाइन्छ । प्रहरीमा पनि बल प्रयोग गर्न पाएँ भन्दैमा चाहिनेभन्दा बढी गरी दबङ्ग बन्ने र सफल भएमा सम्पूर्ण काम समूहले होइन, मैले गरेको हो भनेर जस लिने प्रवृत्ति रहेको छ ।
जेन–जीले गरेको आन्दोलन र प्रदर्शनमा कहाँ चुक्यो प्रहरी, कसरी खस्कियो मनोबल ?
२३ भदौको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत मुलुकभरी भएको जेन–जीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा लाउँलाउँ र खाउँखाउँ उमेरका २१ जना विद्यार्थीको ज्यान गएको र सयौंको संख्यामा घाइते भएको अवस्था छ । यो ज्यादै दुःखद् पक्ष हो, अपूरणीय क्षति हो । यसमा कसले के भन्छ भन्दा पनि ग्राउण्ड रियालिटी अध्ययन गर्नुपर्छ ।
प्रहरीलाई भीड नियन्त्रण गर्दा रबर बुलेटमात्र दिएर पठाउनुपर्छ र पर्दथ्यो । प्रहरी भनेको सेनाजस्तो जनताको ज्यान लिने फौजी संगठन होइन । प्रहरीले अरुको ज्यान–धन बचाउनका लागि बल प्रयोग गर्नु बाध्यात्मक र अन्तिम विकल्प हो । आधुनिक प्रहरीका पिता Sir Robert Peel ले पनि Use of force is last resort प्रहरीले बल प्रयोग गर्ने भनेको अन्तिम विकल्प हो भनेर सिद्धान्त नै प्रतिपादन गर्नुभएको छ ।
जहाँसम्म निषेधित इलाका तोडेर, बलपूर्वक महत्वपूर्ण निकाय संसद भवनको कम्पाउण्डवाल तोडफोड गरेर, सार्पसुटरको भूमिकासमेत निभाउनेगरी High points ड्युटीमा बसेको सेन्ट्रीको हतियार खोस्ने, सुरक्षाकर्मीको गाडीको छतमा माउन्ट गरेको हतिहारको पहुँचसम्म पुग्ने व्यक्ति वा समूहउपर बल प्रयोग गर्नु मानवअधिकारको गम्भीर उल्लघंन हो होइन ? सम्बन्धित क्षेत्रका विज्ञले ठहर गर्लान् नै !
यसतर्फ परिस्थिति र ग्राउण्ड रियालिटीलाई मसिनोगरी बुझ्नु र केलाउनु जरूरी हुन्छ । जेन–जीकोे शान्तिपूर्ण प्रदर्शनमा उमेर पुगेका लाठे, छातीभरी ट्याटु खोपेका अराजक समूह पनि सँगै मिसिएका थिए । जेन–जीकै भाषामा पनि स्कुले विद्यार्थीलाई अगाडि राखेर निषेधित इलाका तोडेमा प्रहरीले ती स–साना नानी स्कुले ड्रेसका विद्यार्थीहरुउपर बल प्रयोग गर्दैन भन्ने मान्यता र मनस्थिति रहेको थियो । सुरुमा प्रहरीले सामान्य सम्झाइ बुझाई गरेको पनि हो । लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको पनि हो तर जेन–जी को आवरणमा ती लाठे ट्याटुवालहरु हतिहार खोस्न उद्यतसमेत भएकै हुन् । गोली चल्यो ! तर गोली ती लाठे-भुसतिघ्रेलाई भन्दा ती स्कुले नानीहरुलाई लाग्यो । लाग्नुपर्ने ठाउँमा भन्दा संवेदनशील अङ्गमा लाग्यो । परिणाम आजको अवस्था सिर्जना भएको हो ।
भदौ २३ को यो परिस्थितिले प्रहरीउपर चौतर्फी विरोध र आलोचना भयो । गोली प्रहार गर्नेलाई र गोली हान्न आदेश दिनेलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा लगेर मुद्दा चलाएर झुण्ड्याउनुपर्छ भन्नेसम्मका अभिव्यक्ति कानून व्यवसायीसमेतबाट आयो । यी र यस्तै अरु थुप्रै कारणले गर्दा सुरक्षाकर्मीको मनोबल गिर्यो । प्रदर्शनकारी र विभिन्न उद्देश्य बोकेका अवसरवादीको मनोवल उच्च भयो र मुलुकभर विध्वंस र तोडफोडको कारकतत्व बन्यो । जसको परिणाम भदौ २४ को बितण्डा मच्चियो ।
काठमाडौंमा प्रहरीको मनोवल गिर्दा मुलुकभरका प्रहरीको मनोबल गिर्न गई सार्वजनिक सम्पत्तिको त के कुरा आफ्नै हतियार र यूनिफर्मसमेत जोगाउन सकेन र हतियार बोकेर पनि गुण्डा र अराजक तत्वको शिकार बन्यो । हातियार बोकेको प्रहरी खाली हातको नियन्त्रण स्वीकार गर्न बाध्य भयो । अर्थात् बल प्रयोगको त के कुरा आत्मरक्षाको अधिकार र नैतिकता दुवै गुमायो ।
निष्कर्ष
नेपालको संविधान अनुसार मानिसहरु भेला जम्मा हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक हक नै हो । जेन–जीले मुलुकमा भ्रष्टाचारविरुद्धको आन्दोलन चलाइरहँदा सरकार जनताको संरक्षक र अभिभावक भएको नाताले संरक्षक र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा त्यस्तो गरे भएको देखिएन । उल्टै प्रर्दशनकारीलाई देशको प्रधानमन्त्रीले नै केटाकेटीले चलाएको कमजोर आन्दोलनका रुपमा आँकलन गरे । र, उनीहरुमाथि सिलसिलेवार बल प्रयोगको सिद्धान्तको पूर्ण र पर्याप्त पालना गरेको देखिएन ।
हुन त निषेधित क्षेत्र जवर्जस्ती तोड्ने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा संसद भवन जस्तो महत्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान इण्डोनेशियामा जेन–जी गरेको शैलीको कपी गरी नेपालका जेन–जीको त्यो खालको उद्दण्ड प्रवृत्ति देखाए । बल प्रयोग नगरी इण्डोनेशियामा जस्तो संसद भवन जलेको भए त्यहाँ खटिने प्रहरी अधिकारी कारबाहीको भागिदार बन्ने निश्चित नै थियो ।
यी माथिका परिस्थिति तथा अन्य स्थितिलाई हामीले सतही रुपमा नभएर स्थलगत र व्यवसायिक ढंगले सोच्नु र विश्लेषण गर्न जरुरी हुन्छ । हतियार बोकेर पनि गुण्डा, अराजक तर खालीहातका गुण्डासँग आत्मसमर्पण गर्नुपरेको, आफ्नै अगाडि आफ्नो बस्ने घर कार्यालय जल्दा साक्षी बस्नुपरेको, हतियार भिरेर ड्युटीमा बसेको प्रहरीलाई खेदाइखेदाई मारेको, आलो घाउमा नूनचूक छर्कनुको सट्टा मल्हमपट्टि लगाएर प्रहरीको मनोबल उकास्नु जरुरी छ । प्रहरीबिनाको समाज एक पल पनि परिकल्ना गर्न सकिँदैन ।
प्रहरी राज्यका अंगहरुले चलाउने संयन्त्र भए पनि आफ्नो स्वार्थमा प्रयोग नगरी राज्यका हितमा प्रयोग गर्ने कानूनी वातावरण सिर्जना गर्नुपर्दछ । साधन स्रोतले सम्पन्न गराउनुका साथै राजनीतिको कालो छायाँबाट प्रहरीलाई टाढा राख्न सकेमा प्रहरीले व्यवसायिक ढंगले काम गर्न सक्दछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend