नेपालगञ्ज, १३ बैशाख । पाँच नम्बर प्रदेशमा कोरोना संक्रमण फैलिएको थिएन । तर बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरिएको छ । र, त्यस क्षेत्रमा सतर्कता बढाइएको छ । भारतमा गएर कोरोना संक्रमित देखिएका ती दुई जना बस्ने बर्दियाको ठाकुरबाबा नगरपालिका २ को सुजनपुर र खुलपुर गाउँलाई पनि पूर्णरुपले सिल गरिएको छ ।
भारतको बहराईच जिल्ला नानपारा निवासी २ मजदुरहरु यही बैशाख ५ गते घर फर्किएको र उनीहरुलाई त्यहाँ परीक्षण गर्दा उनीहरु दुबैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ ।
बहराईचस्थित भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई एक पत्र लेखेर नेपालबाट भारत फर्किएका दुई जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिएका छन् ।
प्रमुख गिरीका अनुसार कोठियाघाट क्रसरमा काम गरिरहेका उनीहरू गत बैशाख ५ गते बर्दियाबाट भारतको बहराईच फर्किएका थिए । बैशाख ५ गतेसम्म बर्दियामै रहेका ती दुबै ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि बर्दियामा संक्रमणको जोखिम अत्याधिक बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।