Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना विरुद्धको औषधि असफल


    शुक्रबार, बैशाख १२ २०७७
    720
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौ,१२ बैशाख  । अमेरिकी कम्पनी गिलिड साइन्सको औषधि पहिलो पटक असफल भएको छ । विश्वभर भाइरलको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उक्त कम्पनीले  परीक्षण गरेको थियो ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

    भूलबस प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरुले दुई सय ३७ बिरामीमा रेमडेसिभिर औषधिको परीक्षण गरेका थिए । जसमध्ये एक सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको थियो ।

    अध्ययन शुरु गरेको एक महिनामा १३ दशमलव ९ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको थियो । साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो ।यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको थियो । अहिलेसम्म प्रमाणित नभएको उपचारको रुपमा पनि यसको प्रयोग गरिँदै आएको थियो । कम्पनीले अहिले पनि यस्तो धेरै परीक्षणहरु गरिरहेको छ । कम्पनीले चार सय बिरामीमा गरेको परीक्षणको नतिजा एक साताभित्र आउने बताएको छ ।रेमडेसिभिर औषधिको परीक्षण यसअघि इबोला नियन्त्रणको लागि पनि गरिएको थियो । त्यतिबेला पनि यो औषधि सफल हुन सकेको थिएन । यो औषधि केही भाइरस नष्ट गर्नकै लागि निर्माण गरिएको थियो । त्यसैले यसले कोभिड–१९ विरुद्ध काम गर्ने अपेक्षा गरिएको थियो ।

    गिलिडले भने डब्ल्यूएचओबाट चुहिएको प्रतिवेदनले अध्ययनलाई गलत ढंगले व्याख्या गरेको आरोप लगाएको छ । कम्पनीका अनुसार यो औषधिको केही बिरामीमा सकारात्मक असर पनि देखिएको दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार