काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले हुँदै नभएको कुरालाइ आधार मानेर अपहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएकोमा निन्दा र भत्र्सना गरेका छन् । बुधबार पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरणको शैलीमा काठमाडौं ल्याएको भनेर बदनाम गर्न खोजिएको भन्दै उनले बिहीबार विज्ञप्ति नै निकालेका छन ।
विज्ञप्तिमा उनले ती योजनाहरु विगतमा जस्तै पानीको फोका सावित हुने उल्लेख गरेका छन् । उनले लेखेका छन्–सत्य, सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सोच सहित नेपाल प्रहरीको निरिक्षक रुपमा भर्ना भएर आफ्नो लगन , संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आशीर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी महानिरीक्षकसम्म भएर केही समयअगाडिदेखि सेवा निवृत्त जीवन बिताइरहेको छु ।
सेवा अवधिको विद्यमान कानुनी व्यवस्थाले गर्दा अझै केही गरौँ भन्ने जोश, जाँगर र उत्साह रहँदै सेवा निवृत्त भएकोले कहाँ कसरी आफ्नो जीवनको आगामी दिनहरु आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने चिन्तन मनमै भए पनि लामो प्रहरी सेवाको दौरान हतपत कहिले आराम गर्न नपाएको र परिवारसँग समय विताउन पनि नपाएकोले गर्दा केही समय घर परिवार र आफ्नै निम्ति खर्च गरौँ भन्ने सोचबाट निर्दिष्ट रहेर त्यसै अनुसार बसिरहेको थिएँ । तर यस्तैमा सारा संसारलाइ नै दुख दिने कोरोना भाइरसको महामारी सुरु भएर त्यसको प्रभावले हाम्रो मुलुकलाइ पनि आक्रान्त पार्दै लगेपछि यो समस्याको दौरान देश र जनताको हितमा केहि गर्न सकिन्छ कि ? भन्ने चिन्ता हुनु स्वाभाविक थियो । त्यसै दौरान विभिन्न साथीभाइहरुसँग छलफल र कुराकानी हुँदै गर्दा संघीय संसदका सदस्यद्वय महेश बस्नेत र किसान श्रेष्ठसंग पनि कुराकानी भयो र कुराकानीको दौरान उहाँहरुले लक्डाउनले अलपत्र परेकाहरुको उद्यार गर्न वा उनिहरुलाइ सुरक्षित घर पुर्याउन कसरि सकिन्छ भन्ने अध्ययन गर्नको लागि सुरुमा बनेपा बर्दिवास सडकबाट घर जानेहरुको के कस्तो अवस्था छ भनेर हेर्न जाने योजनामा रहेको जानकारी दिनु भएपछि म पनि त्यस विषयमा केही सुझाव , सल्लाह दिन सक्ने , योजना निर्माण गर्न सक्ने छु भन्ने ठानेर उहाँहरुसंगै गएको थिएँ ।
संकटमा मानवीय सहयोग अनि राजकीय रुपमा उद्दार के कसरी हुनसक्छ भन्ने प्रमुख लक्ष्य सहितको त्यो यात्राको दौरान पनि सांसदहरु निरन्तर जस्तै राजनीतक कुराकानी पनि गर्नुहुन्थ्यो जुन मलाई अस्वाभाविक पनि लागेन । यसैक्रममा हामी सवैको चिनजानका साथी सांसद डाक्टर सुरेन्द्र यादवो जनकपुर स्थित घरमा गएर खाना खाएका थियौं र त्यहाँ सांसदहरुसंग आपसी कुराकानी गर्ने क्रममासुरेन्द्र यादवजीले पार्टीको आन्तरिक अवस्थाहरु अवगत गराउनु भयो र त्यही क्रममा धनुषामै उहाँले आफ्ना सहकर्मी उमाशंकर अडगरिया लगायतसंग कुराकानी गरेपश्चात उहाँ हामीसंगै काठमान्डौ आउने कुरा भयो जस अनुसार हामी अत्यन्त सोहाद्रता साथ संगसंगै काठमान्डौ आयौं । आफ्नो ड्राइभर, बडीगार्ड, स्वकीय सचिव अनि आफन्तसहित आउनु भएकासुरेन्द्र यादवलाई नक्सालमा अवस्थित उहाँ बस्ने होटेलमा छोडेर म आफ्नो घर आएर सुतेको थिएँ । जव केहिबेर आराम गरेर उठें तव बिभिन्न अनलाइनदेखि कतिपय सामाजिक संजालमा सुरेन्द्र यादवको अपहरण भएको भन्ने मात्रै हैन त्यस काममा म समेत सहभागी भएको भन्ने जस्ता भ्रमपूर्ण समाचारहरु पढ्न पाएँ ।
सुरेन्द्र यादवजी अपहरित भएको वा त्यस्तो केही हैन भनेर उहाँ स्वयमले प्रष्ट पारिसक्नु भएकोले त्यस बारेमा अरु केही भन्न आवश्यक नै छैन तर हुँदै नभएको कुरालाइ आधार मानेर जे जसरी म समेतलाई अपहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएको छ त्यसको निन्दा र भत्र्सना गर्दछु ।
म देश र जनताको सुरक्षामा आफ्नै ज्यान खतरामा हालेर खटेको एक सिपाही हुँ, जे गरें त्यो सवै यहाँहरु सवैलाइ थाहा छ , प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन, फेरि पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागिरहनेछु तर कुनै पनि दिन आफ्नो स्वार्थको खातिर कुनै अनैतिक र गैरकानुनी काम गर्ने छैन । जनताको साथ , समर्थन र मायाको आडमा हिजो जसरी प्रहरी भएर अपराधीहरुको दोहोलो काढेको थिएँ, अव पनि समाजमा व्याप्त थुप्रै विकृति विसंगतिहरुको विरुद्ध कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्ने नै छु । मलाइ विश्वास छ, सदाझैं जव सत्यले असत्यलाइ विस्थापित गर्नेछ तव अफवाह, भ्रम र नियोजित रुपमा चालिएका वदनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका सावित हुनेछन् ।