Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राति–राति चेक काट्ने कार्यालय, सुरक्षा दिने प्रहरी र सोध्ने नेताबीच गालीगलौजमा ठोक्कियो सर्लाहीको राजनीति


    शनिबार, असार २१ २०८२
    5.6K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • सर्लाही । सर्लाहीमा प्रहरी प्रशासन र स्थानीय राजनीतिक नेताबीचको विवाद तीव्र बनेको छ । प्रहरी प्रमुख र जसपा नेपालका नेताबीच टेलिफोनमा भएको गालीगलौज सार्वजनिक भएपछि जिल्लाको राजनीति तातिएको छ ।

    जसपा मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काबीच बिहीबार राति भएको फोन संवाद अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ ।

    सार्वजनिक अडियोमा सुरुमा यादवले एसपी खड्कालाई सोधेको प्रष्ट सुनिन्छ– ‘एसपी साब, राति–राति प्रहरी खटाएर लुट्न खोजेको हो ? पूर्वाधार विकास कार्यालयले राति गेट बन्द गरेर अनाधिकृत रूपमा कमिसनको खेलमा चेक काटिरहेको छ, उल्टै तपाईंको प्रहरी आएर सुरक्षा दिइरहेको छ, के तपाईंहरू मधेशमा लुट्न आएको हो ?’

    यादवको यस्तो प्रश्नसँगै एसपी खड्का फोनमै झर्किँदै गालीगलौज सुरु गर्छन् । अडियोमा एसपीले अपशब्द प्रयोग गर्दै यादवलाई कडा गाली गरेको स्पष्ट सुनिन्छ । त्यसपछि यादव पनि उत्तेजित हुँदै उस्तै शब्द प्रयोग गरेर जवाफ फर्काउँछन् ।

    टेलिफोन संवादमा दुबै पक्षले अपशब्दको वर्षा गरेका छन् । राति नै भएको सो संवाद अहिले यत्रतत्र भाइरल बनेपछि सर्लाहीमा राजनीतिक र सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । टेलिफोन संवाद बाहिरिएपछि जिल्ला अदालत सर्लाहीले शुक्रबार अशोक यादवविरुद्ध आपराधिक उपद्रव मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ अनुमति मिलेसँगै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरस्थित यादवको घरमा खोजी थालेको छ ।

     

    जसपा नेपालका अध्यक्ष अशोक यादव र एसपी योगेन्द्रकुमार खड्का

    तर शनिबार बिहानसम्म यादव पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।
    ‘हामी कानुनी प्रक्रिया अनुसार अघि बढिरहेका छौँ’ प्रवक्ता राईले भने ।

    घटनाको जड पूर्वाधार विकास कार्यालयमा भइरहेको आर्थिक अनियमितता र प्रहरीको भूमिकासँग जोडिएको छ । कार्यालयमा राति नै गेट बन्द गरेर चेक काट्ने, योजनाको रकम भुक्तानी गर्ने जस्ता कार्य भइरहेका छन् भन्ने गुनासोहरू स्थानीय तहमा तीव्र बनेका छन् ।

    जसपा प्रदेश अध्यक्ष यादवले यही विषयमा आवाज उठाउँदै प्रहरी प्रशासनले अनावश्यक रूपमा कार्यालयलाई सुरक्षा दिँदै आर्थिक खेलमा साथ दिएको आरोप लगाएका थिए । अडियोमा उनले प्रहरीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘पूर्वाधार विकास कार्यालयले राति गेट बन्द गरेर अनियमित रूपमा चेक काटिरहेको छ, तपाईंहरू सुरक्षा दिन गएका हो कि लुट्न गएका हो ?’

    तर, एसपी खड्काले त्यसलाई सह्य गर्न नसक्दै गालीगलौज सुरु गरेका हुन् । अडियो सार्वजनिक भएपछि एसपी खड्काको आचरणमाथि समेत प्रश्न उठिरहेको छ ।

    यसबीच, पूर्वाधार विकास कार्यालयमा भइरहेका आर्थिक गतिविधिका कारण त्यहाँ केही दिनदेखि प्रहरी खटिइरहेको छ । कार्यालयमा बजेट सकिनुअघि योजनाको रकम भुक्तानी र चेक काट्ने कार्य भइरहेका छन् ।

    यता, यादवले भने आफूलाई राजनीतिक प्रतिशोधस्वरूप फसाउने प्रयास भइरहेको दाबी गरेका छन् ।

    शुक्रबार सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने–‘म जनताको आवाज उठाउँछु, यही कुरा अहिले मेरो दोष बनाइयो । मलाई फसाउन पूर्वाधार कार्यालयका चलखेल मिलाएर प्रहरी प्रशासन लागिपरेको छ ।’
    यादवको आरोप छ—‘पूर्वाधार विकास कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बसेर राति मात्र मलङ्गवा कार्यालयमा आएर चेक काट्ने, पैसा लेनदेन गर्ने काम गरिरहेको छ । मैले यही कुरा उजागर गर्दा मलाई फसाउने खेल सुरु गरिएको हो ।’  पूर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादवसँग राति राति चेक काट्ने गरेको र प्रहरीलाई समेत मिलाएकोबारेमा नेपालफेसका प्रतिनिधिले प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

    जसपा सर्लाहीले समेत शुक्रबार विज्ञप्ति जारी गर्दै सर्लाही जिल्लाका प्रहरी प्रमुखले पार्टीका प्रदेश अध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप लगाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘एसपी खड्काले मध्यराति डाका शैलीमा प्रहरी परिचालन गरेर पार्टी अध्यक्षको घर घेराबन्दी गरे । उहाँमाथि गरिएको दुव्र्यवहारको हामी घोर विरोध गर्छौँ । एसपीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

    तर जिल्ला प्रहरी कार्यालयले भने पूर्वाधार विकास कार्यालयमा व्यापक आर्थिक चलखेल भएकाले कानुन कार्यान्वयनको प्रक्रियामा प्रहरी परिचालन गरिएको स्पष्ट पारेको छ । प्रहरीका अनुसार कार्यालयमा सुरक्षा नदिँदा थप समस्या आउने जोखिम देखिएको छ ।

    यस घटनाले सर्लाहीमा राजनीतिक माहोल तनावपूर्ण बनेको छ । सदरमुकाम मलङ्गवामा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कुनै अप्रिय घटना हुन नदिन थप प्रहरी पनि तैनाथ गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार