Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानीको संकटले बुहारी भित्र्याउनै गाह्रो, दुःख हुन्छ भनेर छोरी दिन मान्दैनन्


    शुक्रबार, असार २० २०७६
    705
    Shares
  • ११ मिनेट पाठ
  • उदयपुर, २० असार ।  उदयपुरको महाभारत शृंखलामा पर्ने पहाडी बस्तीहरूमा पानीको यति धेरै हाहाकार छ कि यहाँको समस्या थाहा पाएकाहरूले छोरी दिनै मान्दैनन् । पानीको समस्याकै कारण गढी, भञ्ज्याङ, कटहरे, सुन्तले क्षेत्रमा बुहारी भित्र्याउनै समस्या परेको टंक तामाङले सुनाए । 

    ‘पानी लिन राति ३ बजे नै उठेर देवीथान वा कालापानी कुवामा पुग्नुपर्छ । बिहानभर पालोमा बसेर ल्याउनुपर्छ,’ टंकले भने, ‘दुःख पाउने भन्दै छिमेकी गाउँका अभिभावक यहाँका केटालाई छोरी दिन मान्दैनन् ।’ करिब डेढ सय घरपरिवार पानीकै समस्याका कारण बसाइँ सरेका छन् । गढी क्षेत्रका बालबालिका बिहान पानी लिन जाँदा स्कुल नै छुट्ने गरेको छ । ‘बिहान ५ बजे घरबाट निस्किँदा पनि पानी लिएर फर्किँदा १० बज्छ,’ कक्षा ४ मा पढ्ने निशा र माया तामाङले भने, ‘आमा पँधेरो जाँदा मात्रै स्कुल जान पाइन्छ, हामी गयौँ भने स्कुल छुट्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    धारामा १४ वर्षदेखि २२ घण्टा ताला

    यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो । २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन् ।

    गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ । बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ । प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ । स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो । कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घण्टा धारो खोलिन्छ ।

    कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन् । तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन । एक परिवारलाई दैनिक १०–१५ गाग्री चाहिन्छ । त्यसैले थप पानी लिन दुई घण्टा हिँडेर तल कमेरे खोलामा पुग्छन् गाउँले । तर, खोलाको पानी धमिलो र सानो छ । दुई–तीन घन्टासम्म पालो कुरेर ल्याउनुपर्छ । पैसा हुनेहरू भने ट्याक्टरमा बोकाएर ल्याएको पानी किनेर गुजारा चलाउँछन् ।

    पानीको हाहाकार भएपछि सिम्पानीका धेरैले घरका बस्तुभाउ पनि बेचेका छन् । कतिपयले एक–एक गोरु पालेर जोत्ने वेला हल मिलाउने गरेका छन् । पानीकै दुःखले धेरै घर यहाँबाट बसाइँ सरिसकेको चेतबहादुरले सुनाए ।

    सात घण्टा कुरेर एक गाग्री पानी, महिला राति नै उठेर धारामा पुग्छन्, पालोमा गाग्री राखेर चौरमै सुत्छन्
    ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापुकी सुनमाया मगर राति ३ बजेअघि नै उठेर गाग्री टिपेर पलापु भञ्ज्याङस्थित धारातिर कुद्छिन् । एक गाग्री पानी भरेर घर फर्किँदा १० बज्छ । ‘बिहान ४ देखि ९ बजेसम्म पाँच घन्टा र साँझ पनि ४ देखि ७ बजेसम्म तीन घन्टा पानी थाप्न पाइन्छ ।

    हरेक दिन एक परिवारको भागमा दुई गाग्री पानी पर्छ । तर, गाग्री पालोमा राख्न पहिल्यै नपुगे आस नगरे हुन्छ,’ सुनमायाले सुनाइन्, ‘राति ३ बजेअघि नै उठेर धारामा पुग्छु, एक गाग्री पानी भरेर घर फर्किँदा १० बज्छ । कहिलेकाहीँ त पालो नआएर रित्तै फर्किनु पर्छ ।’ यहाँ ११ सय परिवारका ६ हजारभन्दा बढी मानिस बसोवास गर्छन् । आफूहरूलाई देशमा सरकार भएको अनुभूति नभएको युवाहरूको गुनासो छ । ‘यो देशमा सरकार छ, तर हामीलाई कहिल्यै देख्दैन, हाम्रो आवश्यकता कहिल्यै बुझ्दैन,’ मिलन मगरले गुनासो पोखे ।

    भात पकाउन समेत पानी नपुग्दा दालमोठ–चिउराले छाक टार्छन् सिन्धुपाल्चोक भोटेफुल्पिङका एक सय ८० परिवार 
    चौतारा साँगाचोकगढी नगरपालिका–२ को गाउँ हो भोटेफुल्पिङ । एक सय ८० परिवारका तीन सय सदस्य यो गाउँमा छन् । गाउँमा पानीका ६ वटा धारा छन्, तर पानी खस्छ एउटामा मात्रै, त्यो पनि निकै सानो । मिर्मिरेमै पानी भर्न धारातिर दौडिन्छन् गाउँले । भाँडो लाइनमा राखेपछि पालो आउन घण्टौँ कुर्नुपर्छ ।

    एउटा घरले दिनमा एक–दुई गाग्री पानी पाउँछ । तर, गर्जो टार्ने कसरी रु खस्रे भोटेफुल्पिङ खानेपानी आयोजनाका अध्यक्ष समेत रहेका स्थानीय गुञ्जबहादुर तामाङ भन्छन्, ‘म बिहान सवा ४ बजे नै धारामा आइपुग्छु । बिहानभर पालो कुरेर ९ बजेतिर एक गाग्री पानी घरमा भित्र्याउँछु । यति पानीले के गर्ने रु भात पकाउने पानीसमेत नहुँदा कैयौँ छाक दालमोठ र चिउराको भरमा टारेका छौँ । यहाँका सबैको अवस्था यही हो ।’

    गुञ्जबहादुर स्थानीय बज्रेश्वरी आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । नगरपालिकाले विद्यालयलाई दिवा खाजाको व्यवस्था गरिदिएको छ । तर, पानीकै अभावमा विद्यार्थीलाई पनि फुको चिउरा दालमोठ खुवाउने गरेको उनले बताए । भान्सामै पानीको अभाव भएपछि गोठमा पर्याप्त हुने कुरै भएन । त्यसैले त भोटेफुल्पिङका गोठ पनि रित्तिँदै गएका छन् ।

    बर्खामा भने आकाशे पानीले केही राहत दिन्छ, जम्मा गरेर शौचालय र पशुचौपायका लागि प्रयोग गर्छन् । बर्खामा खेततिर एक–दुईवटा मूल पनि फुट्छ । तर, यसपालि अहिलेसम्म झमझम पानी पर्न सकेको छैन । ‘बर्खामा तल खेतमा एक–दुई मूल फुट्छन्, तर अहिलेसम्म मूल फुट्ने गरी पानी परेको छैन,’ गुञ्जबहादुरले भने, ‘नयाँ मूल फुटेपछि पानी मज्जाले पिउनु पर्ला ।’

    वडाध्यक्ष दीपेन्द्र थापाले प्रदेश ३ सरकारले पाँच करोड ५० लाखको खानेपानी योजना ल्याए पनि आयोजना सुरु हुन नसकेको बताए । अहिले टेन्डर प्रक्रियामै रहेकाले आयोजना अघि बढ्ने जनाए ।

    बनेपामा चार दिनमा ४५ मिनेट मात्रै आउँछ, नमोबुद्धमा घर बनाउन खोलाको पानीलाई प्रतिलिटर एक रुपैयाँ
    काठमाडौंनजिकको सहर बनेपा नगरपालिकामा पनि खानेपानीको चरम अभाव छ । ०७२ को भूकम्पमा आसपासका कुवा सुकेपछि समस्या बढेको हो । अहिले बनेपामा खानेपानी संस्थानले वितरण गर्दै आएको पानी चार दिनमा एकपटक ४५ मिनेट मात्रै आउँछ ।

    तर, यति पानीले उपभोक्तालाई छेउ पनि लाग्दैन । ४५ मिनेटमा पनि धारामा पानीभन्दा हावा धेरै आउने गरेको स्थानीयको गुनासो समेत छ । खानेपानी पूर्ति गर्न कोही दुई घण्टा हिँडेर किनागालबाट ल्याउँछन्, कोही एक घण्टा टाढाको चण्डेश्वरी पुग्छन् ।

    हुन त बनेपामा खानेपानी पूर्ति गर्न काभ्रे एकीकृत खानेपानी आयोजना सञ्चालनमा छ । तर, पाँच पटक म्याद थप्दासमेत निर्माण सम्पन्न भएको छैन । ९० प्रतिशत प्रगति भएको भनिएको आयोजनाको काम अहिले रोकिएको छ । जब कि पाँचौँ म्याद यही असार मसान्तमा सकिँदै छ । 

    नमोबुद्ध नगरपालिकामा त झन् सुक्खा नगर भनेर नै चिनिन्छ । नमोबुद्ध–६ चरङ्गेफेदीमा एक सय घरधुरी अहिले काकाकुल छन् । भएको एउटा कुवा पनि ०७२ को भूकम्पमा सुकेपछि कमिला हिँड्ने बनेको छ । डिपबोरिङ गरेर पानी निकाल्ने प्रयास पनि असफल भएको छ । अहिले तल खोला किनारमै इनार खनेर लिफ्टिङ गर्ने प्रयाससमेत गरिरहेका छन् । हाल उनीहरू एक घन्टा हिँडेर तल खोलानजिकको कुवाबाट पानी ओसार्छन् । तर, भिडले दुई–तीन घन्टासम्म लाइन बस्नुपर्ने पनि हुन्छ ।

    चरङ्गेफेदीवासीले घर तथा संरचना निर्माणका लागि आवश्यक पानी भने लिटरको एक रुपैयाँमा खरिद गर्दै आएका छन् । ‘के गर्ने पानी त चाहियो, अस्ति भर्खर १५ सय लिटरलाई १५ सय रुपैयाँ हालेर किनेको हो,’ ललीमाया मगरले भनिन् ।

    धरानमा पानीको हाहाकारले फैलियो डेंगु 
    धरानमा सुक्खा मौसममा पानीको हाहाकार नै हुन्छ । अहिले धरान बजारमा खानेपानीको चर्को अभाव छ । पानीकै अभावका कारण धरानमा डेंगुले महामारीको रूप नै लियो ।

    ट्यांकरबाट खरिद गरिएको पानी घरभित्र र बाहिर भाँडामा जम्मा गरेर लामो समयसम्म राख्दा डेंगु फैलियो । स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रण गर्न धरानवासीलाई पानी पोख्न आग्रह गरे पनि उनीहरू मानेनन् ।

    धरानका १, २, ८, ९, १०, ११, १२, १४, १५, १८ र १९ नम्बर वडामा पानीको बढी समस्या छ । खानेपानी संस्थानले पर्याप्त पानी वितरण नगरेपछि सर्वसाधारण घन्टौं समय लगाएर बमधारा, खत्रीधारा, विष्णुपादुकालगायत स्थानबाट ल्याउन बाध्य छन् ।

    बिहान ३ बजे नै सार्वजनिक धारामा लाइन बस्न पुग्ने गरेको धरान–१८ की शर्मिला कार्कीले बताइन् । संस्थानले भने खानेपानी उत्पादन नै कम भएको भन्दै वितरणमा कटौती गरिएको जनाएको छ । धरानमा दैनिक तीन करोड ५० लाख लिटर खानेपानीले माग भए पनि संस्थानले एक करोड २० लाख लिटर मात्रै वितरण गर्दै आएको खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

    जनप्रतिनिधि नै पानीको लाइनमा
    प्रदेश १ को राजधानी रहेको जिल्ला मोरङमा पनि पानीको समस्या छ । चुनावमा पानीको योजना पार्ने आश्वासन दिएका जनप्रतिनिधि नै अहिले बिहानभर एक गाग्री पानीका लागि लाइनमा बस्नुपर्ने अवस्था छ । मिक्लाजुङ गाउँपालिका–२ की सदस्य कमलकुमारी राईले गाउँमा घारा भए पनि पानी नभएको र दैनिक बिहानै उठेर पानी भर्न लाइन लाग्नुपरेको बताइन् ।

    ‘घर–घरमा खानेपानी ल्याउने भन्ने मेरो चुनावी एजेन्डा नै थियो, तर अहिले आफैँ धारामा लाइन लाग्नुपर्दा दुःख लाग्छ,’ राईले भनिन्, ‘दिनमा दुई–तीन घन्टा पानी आउँछ, भर्न विद्यालयमा प्रार्थना गर्दाजस्तै लाइनमा बस्नुपर्छ ।’

    मिक्लाजुङ–२ र ३ का बासिन्दाले पानीकै अभावमा विवाह, ब्रतबन्धजस्ता कर्म गाउँमै गर्न सकेका छैनन् । पाहुनालाई खानेपानीसमेत दिन नसक्ने अवस्था भएकाले उर्लाबारीमा गएर गर्नुपरेको स्थानीयको गुनासो छ ।

    स्थानीय भगवती प्राथमिक विद्यालयमा पिउने पानीकै अभाव छ । शौचालय जान त कहाँ पाउनु रु विद्यालयको भौतिक संरचना निर्माणमा पनि पानी अभावले समस्या पार्ने गरेको प्रधानाध्यापक नरेश आचार्यले बताए । वडा नम्बर २ मा ७५ हजार लिटर क्षमताको ट्यांकी आवश्यक भए पनि ६० हजार लिटर क्षमताको पानी ट्यांकी मात्रै छ । यो एसियाली विकास बैंक एडिबीको सहयोगमा बनेको हो ।

    पानीको पालो कुर्दा स्कुल छुट्छ
    बडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीयले हरेक वर्ष ६ महिना खानेपानीको चरम अभाव भोग्नुपर्छ । पानी भर्न बिहान मिर्मिरेमै घरबाट धारातिर लागेका विद्यार्थी फर्किंदा स्कुल जान ढिला भइसकेको हुन्छ । बिहान साढे ५ बजे धारामा आउँदा पालो भने पौने १० बजेतिर आउने स्थानीय विद्यार्थी सुनिता श्रीषले बताइन् ।

    विद्यालय जाँदा विद्यार्थी तथा शिक्षकले घरबाटै बोतलमा पानी लैजान्छन् । ‘सुक्खायाम सुरु भयो कि विद्यालयमा पानीको निकै समस्या पर्छ,’ सिसाखानी माविका प्रधानाध्यापक होमबहादुर घर्तीले भने, ‘आफ्ना लागि पिउने पानी त विद्यार्थीलाई घरबाटै लिएर आउन भन्छौँ, ल्याउँछन्, तर शौचालयका लागि साह्रै समस्या छ ।’

    गाउँबाट आधा घन्टाको दूरीमा रहेको धारामा बिहान र बेलुका मात्रै पानी आउँछ । बिहान ६ बजे आउने पानीका लागि ३ बजेबाटै गाग्री लाइनमा राखिन्छन् । स्थानीय स्वास्थ्यकर्मीसमेत रहेकी ललिता श्रीषले पानीकै लाइनमा बस्दा स्वास्थ्य चौकी जान पनि ढिला हुने गरेको बताइन् ।

    खानेपानी समस्या समाधानका लागि लिफ्टिङको प्रयास भइरहेको वडाध्यक्ष खडकबहादुर पुनले बताए । नजिक मुहान नहुँदा खर्च धेरै लाग्ने भएकाले गाउँपालिका र प्रदेश सरकारसँग पनि कुरा गरिरहेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार